TRENDING

प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ६९ वर्षकी थिइन् ।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।

प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको डा। शर्माले जनाएका छन् ।

यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन ।

सीता दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ । अन्तिम संस्कार भने दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने सचिवालयले जनाएको छ ।