TRENDING

रेमिट्यान्स पोहोरभन्दा २२.७ प्रतिशत बढ्यो

काठमाडौँ । गत साउनदेखि जेठसम्म ११ महिनामा मुलुकमा मुलुकमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा रेमिट्यान्स २२.७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको एघार महिनासम्ममा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले मात्रै बढेको थियो ।
अमेरिकी डलरमा पनि रेमिट्यान्स १३ प्रतिशतले बढेर ८ अर्ब ५१ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको हो ।

एघार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या ४६.६ प्रतिशतले बढेको छ । गएको ११ महिनामा ४ लाख ५९ हजार ४ सय १५ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २ सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।