TRENDING

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्तिका कारण संसद्‍मा उत्पन्न भएको गतिरोध खोल्न दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभाको शुक्रबारका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित भएको छ । गत मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेर सदन अवरोध गरेको थियो ।

उक्त अवरोधपछि रोकिएको बैठक शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको थियो । तर सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सदनलाई सहज रुपमा अघि बढाउने विषयमा दलहरुबीच सहमति नभएकाले बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।

बैठकमा सभामुख घिमिरले भने सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक खासगरी मिटरब्याज सम्बन्धी निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सीसम्मा सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौं ।