TRENDING

प्रधानमन्त्रीले कुर्सीमा बस्ने नैतिक अधिकार गुमाइसके भन्दै एमालेको अवरोध

काठमाण्डौ । नेकपा एमालेका सांसदहरूको अवरोधपछि राष्ट्रियसभा बैठक आज शुक्रवार पनि स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिलेको एक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनको राजीनामा माग्दै एमाले सांसदहरूले आजको बैठकमा पनि अवरोध गरेका हुन् । यो सँगै राष्ट्रियसभा बैठक लगातार तेस्रो दिन स्थगित भएको छ । एमालेको अवरोधका कारण बुधवार र बिहीवारको बैठक पनि स्थगित भएको थियो ।

बैठकमा एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र नागरिकको स्वाभिमान र संसद्को गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने अडान लिनुपरेको बताए ।

देशकै सम्मानित पदमा पुगेका व्यक्तिले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि आँच आएको उहाँको दाबी थियो । प्रधानमन्त्रीले कुर्सीमा बस्ने नैतिक अधिकार गुमाइसकेकाले तत्काल राजीनामा दिनुपर्ने उनको माग थियो ।

एमाले सांसदहरूको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक पर्सि आइतवार दिउँसो ११ बजेर ३१ मिनेटमा बस्ने गरी बैठक स्थगित गरेको हो ।