TRENDING

पाकिस्तानमा पूर्व विदेशमन्त्री पक्राउ

एजेन्सी । पाकिस्तानमा पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफ पीटीआईका नेता शाह मोहमद कुरैशी पक्राउ परेका छन्। उनलाई आज बिहान इस्लामाद प्रहरीले उनलाई पक्राउ गरेको पीटीआईले दाबी गरेको छ।
पक्राउपछि उनलाई अज्ञात स्थलमा लगिएको छ। पार्टीले ट्विटरमा साझा गरेको भिडियोमा सादा लुगा लगाएका मानिसहरूले कुरेशीलाई हिरासतमा राखिएको स्थानबाट प्रस्थान गर्नुअघि पार्टी कार्यकर्ताहरूलाई हात हल्लाइरहेको देखाइएको छ।

गिरफ्तार हुनुभन्दा अघि उनले रिकर्ड गरेको भिडिओमा भनेका छन्, ‘मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ। म एउटा सन्देश दिन चाहन्छु। यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ। आज इमरान खान उनको नियन्त्रणमा छन् जसबाट उनको ज्यानलाई जोखिम छ।‘

उनले समर्थकहरूलाई खान रिहा नभएसम्म आन्दोलन नरोक्न पनि भनेका छन्।

पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएको विरोध देशभर फैलिएको छ। हिंसात्मक प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ। एक हजार प्रदर्शनकारी पक्राउ परेका छन्। प्रधानमन्त्री शहबाज शरीफले विरोध प्रदर्शनलाई आतंककारी गतिविधिको संज्ञा दिंदै भर्त्सना गरेका छन्।

देशबासीका नाममा सम्बोधन गर्दै शरीफले सार्वजनिक सम्पत्ति र सरकारी कार्यालयहरुमा थप आक्रमण गरिए कठोर कारबाही गरिने चेतावनी दिएका हुन्।

पूर्वप्रधानमन्त्री खान र उनको दल पीटीआईका कार्यकर्ताले संवेदनशील सैन्य अखडामा आक्रमण गरेको शरीफको आरोप छ । खानका समर्थकले लाहौरस्थित प्रधानमन्त्री शरीफको निजी निवासका साथै एक उच्च सैन्य जनरलको निवासमासमेत आक्रमण तथा आगजनी गरेका छन्।​