TRENDING

राष्ट्र बैंकले मर्जर सम्झौता गरेका बैंकलाई एकीकृत कारोबार गर्न समयसिमा तोक्यो

काठमाडौं। हाल करिब एक दर्जन वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा छन् । नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक, ग्लोबल आइएमई–बैंक अफ काठमान्डू, हिमालयन बैंक-सिभिल बैंक, प्रभु बैंक-सेञ्चुरी बैंक र कुमारी बैंक-एनसीसी बैंक मर्जर सम्झौता गरेर मर्जको तयारी गरिरहेका छन् ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत् वाणिज्य बैंक र लघुवित्तहरूलाई २०७९ पुस मसान्तसम्म मात्रै मर्जर सुविधा दिने बताएपछि हतारिँदै बैंकहरु मर्जर प्रक्रियामा सामेल भए । पुस मसान्तपछि मर्जरमा पाइने सुविधा खोसिने डरले बैैंकहरुले एकपछि अर्को सम्झौता गरे ।

उक्त सुविधा पाउनका लागि दुइ महिना मात्रै बाँकी छ । मर्जरमा रहेका बैंकहरुका अनुसार पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने गरी काम भइरहेको बताएका छन् । गत वर्षको वित्तीय विवरण स्वीकृत गर्न राष्ट्र बैंकले ढिलाइ गरेका कारण मर्जर प्रक्रियापछि धकेलिने हो की भन्ने चिन्ता बैंकका संचालकहरुमा छ ।

बैंक तथा वित्तीय संस्थाहरुले यसपटक गत वर्षको वित्तीय विवरण राष्ट्र बैंकमा पठाउन ढिलाइ गरेका थिए । सोही कारणले राष्ट्र बैंकले पनि वित्तीय विवरण स्वीकृत गर्न ढिलाइ गरिरहेको छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि वार्षिक साधारण सभा बोलाएर मर्जर प्रस्ताव पारित गर्ने पक्षमा संचालकहरु छन् ।

मर्जरमा गएका बैंकहरुलाई एकीकृत कारोबारका लागि राष्ट्र बैंकले ताकेता गरिसकेको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिएको समयभित्र नै एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटि सदस्य समेत रहेका मेगा बैंकका संचालक गोपाल खनाल बताउँछन् ।

उनका अनुसार वार्षिक साधारण सभाबाट नै मर्जर प्रस्ताव पारित गर्ने योजना छ । राष्ट्र बैंकले गत वर्षको वित्तीय विवरण स्वीकृत नगरेका कारण ढिला हुन पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत दिन ढिलाइ गरेपनि मर्जर प्रक्रियालाई भने समयमा नै सम्पन्न गर्ने उनी बताउँछन् ।

‘पुस २२ गतेसम्म समय ताेकेको छ, वार्षिक साधारण सभाबाट नाफा बाँड्ने र त्यही सभाबाट मर्जर प्रस्ताव पनि पारित गर्ने योजना छ तर, राष्ट्र बैंकबाट दुवै बैंकको वित्तीय विवरण स्वीकृत भएको छैन, राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गर्न ढिलाई गरेपनि मर्जर अगाडि बढ्छ, समयमा नै मर्जर हुन्छ,’ उनले भने ।

अहिले राष्ट्र बैंकले दुवै बैंक वित्तीय विवरण फुल अडिट हेरिरहेको छ । उनले दुवै बैंकको डीयू डेलिजेन्स रिपोर्ट (डीडीए) रिपोर्ट पास भइसकेको बताए । डीडीए रिपोर्टमा कुनै समस्या नरहेको उनको भनाइ छ । ‘यसलाई वार्षिक साधारण सभामा पेश गरिन्छ, स्वाप रेसियो प्रारम्भिक सम्झौता अनुसार आएको छ ।’

नीतिगत तहमा छलफल भइरहेकाले शाखाहरु ब्यवस्थापन, प्रबन्ध नियमावली तयार, आईटी लगायत आन्तरिक काम भइरहेको उनले बताए । ‘राष्ट्र बैंकले मर्जर पछि पाउने सुविधा पुसपछि बन्द गर्छ, मर्जर गरेपछि फाइदा त लिनुपर्याे नी, राष्ट्र बैंकले मंसिर ५ गतेसम्म वित्तीय विवरण स्वीकृत दियो भने एकैचोटि वार्षिक साधारण सभा बोलाउँछौं, यदि ढिला नै हुन्छ भने विशेष साधारण सभा बोलाएर पुस भित्र नै एकीकृत कारोबार गर्नेछौं, पुस पहिलो साता एकीकृत कारोबार गर्ने तयारी थियो तर वित्तीय स्वीकृत नभएका कारण ढिला भएको हो, अब मर्जर रोकिँदैन,’ उनले भने ।

अब समय थप्ने भन्दा पनि पुस भित्र एकीकृत कारोबार गर्न लक्ष रहेको उनले बताए । राष्ट्र बैंकले दिएको सीमाभित्र मर्ज हुन तयार रहेको उनको भनाइ छ । मर्जर प्रक्रियामा कुनै असहज परिस्थिति नआएको उनले बताए । ‘एनआइबिएल पुरानो बैंक हो, हामीसँग पनि मर्जरमा अनुभव छ, मर्जरको विषयवस्तुमा कुनै विवाद, असहज परिस्थिती देखिएको छैन, विषयवस्तुहरु सौहार्द पूर्ण वातावरणमा अघि बढेको छ, कर्मचारी व्यवस्थापनदेखि अन्य कुराहरु एकीकृत कारोबार अघि सम्पन्न हुन्छ,’ उनले भने ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।

यस्तै, मर्जर कमिटि सदस्य रहेका सेञ्चुरी बैंकका संचालक मन बहादुर राई प्रभु बैंक र सेञ्चुरी बैंकबीच पुस मसान्त भित्र एकीकृत कारोबार हुने दाबी गर्छन् । उनले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत हुन बाँकी रहेकाले डीडीए रिपोर्ट आउन पनि ढिलाइ भएको बताए । वित्तीय रिपोर्ट राष्ट्र बैंकमा पेश गरेको छ । वित्तीय रिपोर्ट स्वीकृत हुनमा कसैको पनि दोस नरहेको उनको भनाइ छ ।

‘पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने लक्ष हो, यो भन्दा अघि पनि मर्ज हुन सक्छ, राष्ट्र बैंकबाट डीडीए रिपोर्ट स्वीकृत ढिला भएको छ, अझै केही समय लाग्ने जस्तो छ, यसअघिका मर्जर वर्ष दिन पछि पनि भएका थिए,’ उनले भने ।

उनका अनुसार एमओयू गरेका बैंकहरु मर्जरबाट ब्याक हुने अवस्थामा छैनन् । कुनै असमान किसिमको परिवर्तन डीडीए रिपोर्टमा नआउने उनले बताए । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले हस्ताक्षर गरेका थिए । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।

सिभिल बैंकका सञ्चालक अम्बिर बोगटी डीडीए रिपोर्ट आउन बाँकी रहेको बताउँछन् । डीडीए रिपोर्टमा धेरै फरक भएर नआउने उनको भनाइ छ । स्वाप रेसियो र कर्मचारी व्यवस्थापन गर्नुपर्ने मुद्धा भएपनि त्यसमा कुनै समस्या नरहेको उनले बताए ।

‘डीडीए रिपोर्ट फाइनलमा पुगेको छ, एकहप्ता भित्र डीडीए रिपोर्ट आउँछ, कर्मचारी व्यवस्थापन अन्तिम चरणमा छ, एमओयूमा भए अनुसारको डीडीए रिपोर्ट आउँछ, फाइनल डीडीएमा २/४ प्रतिशत फरक आउला तर यसमा केही फरक पर्दैन, १० प्रतिशतसम्म कम्परमाइज गर्न पाइन्छ, त्यो भन्दा बढी आउँदैन र घटेर नी आउँदैन, बढी आएपनि हामी माग्दैनौं,’ उनले भने, ‘कर्मचारीअहिले म्याचिङ भइरहेको छ, हाम्रोमा राम्रो छ भने त्यसलाई लागू गर्ने र उहाँहरुकोमा राम्रो छ उताको लागू गर्ने हो ।’

हिमालयन बैंक र सिभिल बैंकको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंकमा पेश गरेको छ । वित्तीय विवरण स्वीकृत नभइ वार्षिक साधारण सभा नहुने हुँदा रोकिएको उनले बताए । साधारण सभाले असारसम्मको नाफा वितरण गर्ने प्रस्ताव पारित गरेर मात्रै मर्जर गराउने उनको भनाइ छ ।

‘कात्तिक २३ गते समय सकिएको हो, तीन महिनाको समय थप्न राष्ट्र बैंकमा आवेदन दिएका छौं, तीन महिना समय भएपनि पुस मसान्तभित्र नै टुङग्याउँछौं, कुनै विशेष परिस्थिती नआएमा पुस २५ गते एकीकृत कारोबार गर्छाैं,’ उनले भने ।

गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए ।

सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन बैंक हुनेछ भने हिमालयन बैंकको सञ्चालक समिति नै यथावत् रहने सम्झौता भएको हो । प्राप्ति पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् ।

कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जेबी राणाले कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेभित्र गर्ने तयारी रहेको बताएका छन् । अध्यक्ष राणाले अहिले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेको बताउँदै डीडीए रिपोर्ट पनि छिट्टै आउने बताएका हुन् । ‘अहिले मर्जरका लागि सुपर फाष्टमा काम भइरहेको छ, पुस १७ गतेअघि नै एनसीसी बैंकसँग एकिकृत कारोबार गर्ने गरी मर्जर प्रक्रिया अघि बढेको छ, केही दिन भित्र डिडिए रिपोर्ट आउँछ,’ उनले भने ।

एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।