TRENDING

पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि एनएचपीसी लिमिटेडलाई लगानी बोर्डले दियो लाइसेन्स

काठमाडौं । लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई सम्भाव्यता अध्ययनको लाइसेन्स दिएको छ ।
बिहीबार लगानी बोर्डले आयोजना सर्भेक्षणका लागि एनएचपीसीलाई लाइसेन्स दिएको जनाएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले एनएचपीसीका नायब महाप्रबन्धक अशोक कुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेको बोर्डले जनाएको छ । लगानी बोर्डबाट लाइसेन्स पाएसँगै एनएचपीसीले आयोजनाबाट आर्थिक लाभ भए नभएको, आयोजना निर्माण गर्दा लाग्ने लागत, वातावरणीय प्रभाव मूल्यांकन, आयोजनामा अधिकतम विद्युत उत्पादन हुन सक्ने सम्भावना लगायतका विभिन्न विषयमा दुई वर्षभित्र अध्ययन गर्नेछ ।

गत २३ जेठको लगानी बोर्डको ५१ औं बैठकले पश्चिम सेती निर्माणको जिम्मा एनएचपीसीलाई दिने निर्णय गरेको थियो । पश्चिम सेती जलविद्युत आयोजनाबाहेक पनि एनएचपीसीले १९०२ मेगावाटको मुगु कर्णाली र ४८० मेगावाटको फुकोट कर्णाली पनि निर्माण गर्ने इच्छा देखाएको छ । पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ (एसआर–६) निर्माणको जिम्मा पाएको एनएचपीसीले थप दुई ठूला आयोजना पनि निर्माण गर्न इच्छा देखाएको उच्च स्रोतले जानकारी दिएको छ । मुगु कर्णाली र फुकोट कर्णाली दुवै हाल विद्युत उत्पादन कम्पनीमार्फत अध्ययन भइरहेको छ ।

फुकोट कर्णाली निर्माणमा जान सक्ने अवस्था भए पनि स्रोत अभाव रहेको तथा स्थानीय लगानीले मात्रै आयोजना निर्माण हुन नसक्ने भएका कारण भारतीय कम्पनीसँग छलफल चलिरहेको स्रोतले जनायो । फुकोट कर्णाली निर्माणका लागि चिनियाँ कम्पनीलगायत भारतीय कम्पनी एनएचपीसी, नेशनल थर्मल पावर कर्पोरेशन लिमिटेड तथा कोरियन कम्पनीले प्रस्ताव गरेका छन् ।
अर्धजलाशययुक्त फुकोट कर्णाली आयोजनाको विद्युत गृह सान्नी त्रिवेणी गाउँपालिका–३ मा पर्छ । मुख्य बाँधको उचाइ जगदेखि १६० मिटर हुने जनाइएको छ भने आयोजनाका लागि १०७५ रोपनी जग्गा आवश्यक पर्नेछ । हाल ७५ रोपनीमात्रै अधिग्रहण गर्न बाँकी रहेको अयोजनाको लागि घर टहरा र बाँकी जग्गा अधिग्रहण सुरु भइसकेको छ । आयोजनाको लागत ९२ अर्ब ३ करोड रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको फुकोट कर्णाली आयोजना निर्माणमा जान सक्ने अवस्थामा छ ।

“१९०२ मेगावाटको जलाशययुक्त मुगु कर्णालीको अध्ययन सकिन कुरेर बसेका भारतीय लगानीकर्ताहरु आयोजनाको अध्ययन सकेपछि प्रस्ताव गर्ने योजनामा रहेका हुन सक्छन्,” स्रोतले बतायो । अबको ६ महिना सम्भाव्यता अध्ययन सक्ने योजना रहेको यस आयोजनाको सम्भाव्यता अध्ययन नेपाल विद्युत प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । मुगु कर्णाली प्रस्तावित आयोजना निर्माणमा ४ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।