TRENDING

काठमाडौं महानगरको प्रवक्तामा वडा अध्यक्ष मानन्धर नियुक्त

काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रवक्ताका रूपमा १७ नम्बर वडाका अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । उनी कामपाको सूचना प्रविधि समितिका संयोजक समेत हुन् । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतवार बसेको छैटौं कार्यपालिका बैठकले प्रवक्ता नियुक्तिको निर्णय गरेको हो ।
बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णय समेत गरेको छ । यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले ६ वटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।

तत्कालीन समयमा ५ वटा देशका ११ वटा नगरबाट ४ जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएको थिए । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ । चालू अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो । बैठकका राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराएका थिए ।