TRENDING

मंगलवार १ सय ७७ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या कति ?

काठमाडौं। नेपालमा थप १ सय ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ३ हजार १२६ जनाको नमूना परीक्षण गर्दा मंगलबार १७७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, १ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ । थप १७७ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ। २४ घण्टाको अवधिमा ४१ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त भएको छैन । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ रहेको छ । पछिल्लो २४ घण्टामा थपिएकामध्ये सबैभन्दा बढी ९० जना काठमाडौं जिल्लाका रहेका मन्त्रालयले जनाएको छ। यस्तै, ललितपुरमा १३, कास्कीमा ८, बाँकेमा ८ जना थपिएका छन् ।