TRENDING

बीमा समितिले दियो हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति

काठमाडौं । बीमा समितिले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । बीमा समितिका प्रवक्ता राजुरमण पौडेलका अनुसार हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्टलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरिएको हो । यी दुवै बीमा कम्पनीले मर्जर प्रक्रिया टुंग्याएर साउनबाट एकीकृत कारोबार सुरु गर्न भनिएको पनि पौडेलले जानकारी दिए ।

यी दुवै बीमा कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ । पुँजीवृद्धि योजनाअन्तर्गत यी दुवै कम्पनी मर्जरमा जान लागेका हुन् । बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।

हाल जीवन बीमा कम्पनीहरुको २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब रुपैयाँमात्रै चुक्तापुँजी रहेको छ । मर्जर भएपछि पनि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँमात्रै पुग्ने छ । अहिले हिमालयन जनरलको चुक्तापुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर दिएपछि तोकिएको पुँजी पुग्नेछ । मर्जरपछि बन्ने संस्थाको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड रहनेछ ।