TRENDING

जलविद्युत आयोजनाको सुरुङमा दुर्घटना, एक मजदुर बेपत्ता

सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको सुरुङ मार्गभित्र दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन् ।

आयोजना निर्माण स्थल पञ्चनस्थित सुरुङ मार्गभित्र स्काभेटरले पेनस्टक पाइप बिछ्याउने पाइप लैजाने क्रममा एक्स्काभेटर नै भाँचिएपछि उक्त दुर्घटना भएको हो । सुरुङभित्र पानी बगाउने पाइप एक्स्काभेटरको बकेटमा लिएर जाँदा एक्स्काभेटर नै भाँचिएपछि उक्त बकेटमा रहेका मजदुर समेत सुरुङभित्र खसेका थिए । सुरुङभित्र बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेका छन् ।

दुर्घटनामा परी घाइते हुनुभएका पर्सा जिल्ला पटेरवा गाउँपालिका ४ का २० वर्षीय अङ्गत राय थारुलाई उपचारको लागि ओखलढुङ्गास्थित मिसन अस्पताल पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।

घाइते थारुको अवस्था सामान्य रहेको बताइएको छ । घाइतेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएका चौधरी भने आरालो सुरुङको १६० मिटरभन्दा तल खसेको अनुमान गरिएको छ ।

हराइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि सुरुङभित्र रहेका निर्माण सामाग्रीहरूका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ । खोजी कार्यका लागि १४ जना प्रहरी र १२ जना नेपाली सेनाको संयुक्त टोली परिचालित रहेको प्रनाउ कटवालले जानकारी दिनुभयो ।

सुरुङ मार्गभित्र मानिसका साथै निर्माण सामाग्रीहरू ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ ।