TRENDING

तिहार नजिकिँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर लापरवाही : बेच्न बनाइएको मिठाइमा किरैकिरा !

काठमाडौं । तिहार नजिकिँदै गर्दा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने  गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

 सालिमार हस्पिटालिटी एण्ड फुड प्रा. लि. का नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाई उत्पादन तथा विक्री हुँदै आएको छ ।

आज काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ्, अन्य कम्पनीले उत्पादन गरेका खाद्यबस्तुमा आफ्नो लेवल र आफूले उत्पादन गरेका खाद्यबस्तुमा भारतीय कम्पनीको लेवल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय विक्री गरेको पाइएको थियो ।

यस अघि अनुगमन टोलीले नयाँ सडकमा रहेको पसलको पनि निरीक्षण गरेको थियो । त्यस क्रममा उत्पादन मिति उल्लेख नभएका चिउराका बोराहरु फेला पारेको थियो । अनुचित व्यापारिक क्रियाकलाप भएकोले जरिवाना तिराउनु परेको हो ।

निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिँदै भने, यसअघि दिइएका निर्देशनको पालना गर्ने वा त्यसका लागि तत्परता नदेखिएपछि जरिवाना तिराएका हौँ ।

यस अघि ०७६ कार्तिक ८ गते महानगरले यही ठाउँमा गएर गलत भएका ठाउँहरु देखाउँदै सुधार गर्न भनेको थियो । त्यसबेला तिहारका लागि मिठाइ प्याकिङ् गरेर दिइने बक्सहरु भुँइमा राखेर पट्याउने काम भइरहेको थियो ।

यसरी बक्स बनाउन खटिएका कर्मचारीहरु भुँइमा पलेँटी कसेर बसेका थिए । उनीहरुका अगाडि बक्स र कागजको थुप्रो थियो । उनीहरुले जुत्ता लगाएका थिए तर हातमा पञ्जा, सरीरमा एप्रोन तथा टाउको छोप्ने कुनै सामान प्रयोग गरेका थिएनन् ।

गुलाबको पहिलो तलामा मिठाइ बनाउने काम गरिरहेका कामदारहरु खाली हातले लड्डु बनाइरहेका थिए । छेउमा ठूला ठूला भाँडामा लालमोहन र रसबरी राखिएको थियो । तेस्रो तला राखिएका सामानहरु हेर्दा दुगड कम्पनीबाट उत्पादन भएका १ किलोग्रामका १० वटा म्याद गुज्रेका बेसनका प्याकेट भेटिएका थिए ।

अर्को तलामा भण्डारको छेउ अँध्यारो कुनामा आधा बोरामा कीरा परेको २६ किलो बेसन थियो । यसरी भेटिएका सामान नष्ट गर्दै अनुगमन टोलीले सुधार गर्नु भनेको थियो ।

गुलाबमा भेटिएका सामाग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पुर्‍याउन सक्ने खालका हुन् । अनुगमनमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझा भन्छन्,’जुन मिठाई पसलमा गयो त्यहीँ समस्या छ । यस्ता कारवाहीलाई सांकेतिक मान्नुपर्छ । समय दिँदा पनि सुधार नगर्नेलाई हदैसम्मको कानुनी दायरामा नल्याइ उपभोक्ताहरू ठगिने क्रम रोकिँदैन ।’

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन्, ‘मिठाइ पसलको भान्छा सरसफाइ गर्न गएजस्तो भएको छ । एक दुईबाहेक अरुको मिठाई उत्पादनको चक्रमा कतै न कतै समस्या भेटिइहाल्छ । अहिले मापदण्ड कार्यान्वयनका लागि व्यवसायी र नियमनका लागि सरकारको तत्परता चाहिएको छ । ‘

consumer mithai tihar