TRENDING

काठमाडौं महानगरभित्र तिहार तथा छठ पर्व लक्षित बजार अनुगमन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्व लक्षित महानगर क्षेत्रको बजारलाई एकीकृत अनुगमनका माध्यमबाट व्यवस्थापन गरिने तयारी गरेको जनाएको छ ।

शुक्रवार काठमाडौँ महानगरकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमनलाई व्यवस्थित बनाउने निर्णय गरेको हो ।

अनुगमनका क्रममा खाद्यान्न, तरकारी, मरमसला तथा भाइ मसलाका सामान र फलफुल, फूल र मालासहित कृषिजन्य सामाग्री, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेरिने महानगरले जनाएको छ ।

‘अनुगमन गर्ने निकाय धेरै भएकोले दिनदिनै अनुगमन टोली व्यापारीकोमा पुग्दा उनीहरुले असजिलो महसुस गर्न सक्छन् । हाम्रो लक्ष्य कसैलाई असजिलो महसुस गराउने होइन,’ बैठकका अध्यक्ष उपप्रमुख खड्गी श्रेष्ठले भनिन्, ‘सेवा र बस्तुको गुणस्तर तथा मूल्यलाई व्यवस्थित गर्ने हाम्रो लक्ष्य हो । स्वच्छ बजार व्यवस्थापनका लागि गरिने अनुगमनले उचित व्यापारिक क्रियाकलाप गर्नेलाई समस्या नपरोस् । अनुचित क्रियाकलाप गर्नेले उन्मुक्ति नपाओस् । तिहार र छठ पर्व लक्षित काठमाडौँ महानगर क्षेत्रको अनुगमनमा महानगरपालिकाले नेतृत्व गर्छ । वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोली बनाएर अनुगमनमा निस्कौँ ।’

बैठकमा दशैँका बेला महानगरपालिकाले गरेको अनुगमनको समीक्षा गरिएको थियो । त्यस क्रममा कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले खाद्यान्न, तरकारी, फलफुललगायत खाद्यबस्तु र पशु सेवा महाशाखाका प्रमुख एवं निरीक्षण अधिकृत वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले चौपाया बजार र पशुजन्य खाद्यबस्तु सम्बन्धी कामको विवरण प्रस्तुत गरेका थिए ।

भण्डारीकाअनुसार १४ दिनमा ३० वटा व्यापारिक फर्म तथा प्रतिष्ठानमा अनुगमन गरिएको थियो । जसमध्ये एक तरकारी व्यापारीलाई २० हजार रुपैयाँ र एक किरानासहित दूग्ध तथा अन्य खाद्य बस्तुको व्यापार गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गराइएको थियो ।

डा झाका अनुसार यस बर्ष दशैँका लागि काठमाडौँ उपत्यकामा ९ सय ६२ वटा कुखुरा, १ हजार ४ सय २२ हाँससहित ५५ हजार २ सय ९३ वटा पशुपंक्षीको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये कलंकी खसी बजारमा १५ वटा र टुकुचा खसी बजारमा ३ वटा गरी १८ वटा मृत खसी बोका गाडिएको थियो । १९६ वटा विरामी चौपाया पाइएको थियो । जसमध्ये ८ वटाको उपचार नै गरिएको थियो भने बाँकीलाई निश्चित समयसम्म विक्री रोक्का राखेर स्वच्छ भएपछि विक्री गर्न दिइएको थियो ।

बैठकमा योजना तथा अनुगमन मूल्याङ्कन इकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यले तालिकावद्ध अनुगमनको तयारी भएको बताए । त्यस्तै उपनिर्देशक प्रहलाद घिमिरेले अनुगमनको एकीकृत तथ्याङ्क संकलन हुनु पर्नेमा जोड दिए ।

त्यस्तै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बजारमा बेचिने बस्तुको ढुवानी, भण्डारण र विक्री कक्षसम्मको चक्र हेर्नु पर्ने र आवश्यकताका आधारमा खरिद विलसँग विक्री विल भिडाउनु पर्ने अवस्था रहेको उल्लेख गरे । नेपाल च्याम्बर अफ कमर्स महानगर समितिका प्रथम उपाध्यक्ष तेविन्द्ररत्न शाक्यले अनुगमनबाट स्वच्छ व्यापारमा फाइदा पुग्नु पर्ने बताए ।

समितिले पर्व विशेष अनुगमनसँगै नियमित अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

 

kathmandu