TRENDING

झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै

दमक । कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो ।

नेपाली सेनासँगको सहकार्यमा शव व्यवस्थापनको तालिम सञ्चालन शुरु गरिएको नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले बताउनुभयो । उहाँले सबै ठाउँमा सङ्क्रमितको शव व्यवस्थापन गर्न सेनालाई मात्रै हम्मेहम्मे परिरहेका कारण स्वयंसेवाका क्षेत्रमा क्रियाशील स्काउटरहरुलाई प्रशिक्षण दिइएकोे बताउनुभयो । उहाँका अनुसार बुधबारसम्म भद्रपुरमा सञ्चालन हुने सो तालिममा झापाका १७ स्काउटर सहभागी छन् ।

तालिमको पहिलो दिन श्री नयाँ श्रीनाथ गणका गणपति श्री अमरजङ्ग थापाले सिसिएमसी, डिसिएमसी, स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाको भूमिकाबारे प्रस्ट पार्नुभएको थियो । नेपाली सेनाका तर्फबाट प्रशिक्षक लेफ्टिनेन्ट डा समीर पुडासैनीले कोरोनाका बारेमा प्रस्ट पार्दै शव व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने प्राथमिक तथा गहन विषयहरूमा प्रकाश पार्नुभएको थियो ।