

जाजरकोट । गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँमा सबै बिरामी हुँदा हैरान भएको र आफूलाई समेत सन्चो नभएको राते नेपालीले बताउनुभयो । “ गाउँमा कसैको परीक्षण भएको छैन”, नेपालीले भन्नुभयो ।
त्यस्तै नलगाड नगरपालिकाको कैना, टट्टा, हल्चौर बारेकोटको रामीडाँडा, धौलाकोट लगायत गाउँमा पनि ज्वरोका बिरामीको सङ्ख्या बढिरहेको छ । गाउँभरि शङ्कास्पद बिरामी बढे पनि परीक्षण र उपचार हुन नसकेको हल्चौरका हरिबहादुर खत्रीले बताउनुभयो । “अधिकांशलाई कोरोना भएको आशङ्का छ, तर परीक्षण र उपचार नहुँदा झारफुक र जडीबुटीको उपचारमा भर पर्नुपरेको छ”, उहाँले भन्नुभयो, “कयौँपल्ट जनप्रतिनिधिलाई भनियो तर वास्तै गरेनन् ।”
गाउँमा घरघरै बिरामी भए पनि तातोपानी, जडीबुटी र धामीझाक्रीको झारफुकका भरमा बाँचिरहेको खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै जना जडीबुटीकै भरमा छौँ, एक/दुई दिन सञ्चो हुन्छ, फेरि बिमार बल्झिएपछि थला पर्नुको विकल्प छैन ।” परीक्षण गरे गाउँका अधिकांश व्यक्तिमा कोरोना सङ्क्रमण देखिने उहाँको भनाइ छ । उहाँका अनुसार सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा रहेकालाई समेत परीक्षण गरिएको छैन ।
एक सातायता दिनहुँ पानी पर्न थालेपछि बिरामी बढिरहेको खत्रीले बताउनुभयो । उहाँका अनुसार चौराटाका झण्डै ५० घरधुरीमा बिरामी नभएको घरै छैन । बच्चादेखि वृद्धसम्म बिरामी परेपछि गाउँमा त्रास फैलिएको उहाँले बताउनुभयो । “न परीक्षण हुन्छ न उपचार”, उहाँले भन्नुभयो, “श्वासप्रश्वासमा समस्या देखिए मर्नुको विकल्प छैन ।” गाउँभरि ज्वरो, रुघाखोकी र जिउ दुख्ने बिमारका कारण अधिकांश बासिन्दा लखतरान परेको दम्दालाकी भगवती चन्दले बताउनुभयो । “गाउँको स्वास्थ्यचौकीमा औषधि पनि छैन, स्वास्थ्यकर्मी पनि भेटिदैनन्”, उहाँले भन्नुभयो, “अब त घरेलु उपचारकै भर छ ।” स्थानीय सरकारले बिरामीको उपचारमा बेवास्ता गरेको उहाँको गुनासो छ ।
जनप्रतिनिधिले भने परीक्षण र उपचारको काम शुरु भएको दाबी गरेका छन् । कोरोना परीक्षण र अन्य स्वास्थ्य समस्याको उपचारका लागि गाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । “कोरोना हो कि अन्य भाइरल रोग हो भन्नेबारे एक/दुई दिनमै थाहा हुन्छ”, उहाँले भन्नुभयो, “बिहीबारबाट स्वास्थ्यकर्मीले घरदैलो थालेका छन् ।”
गाउँ–गाउँमा कोरोना सङ्क्रमणको जोखिम बढे पनि कीट तथा जनशक्ति अभाव भन्दै सम्बन्धित निकाय पन्छिने गरेको स्थानीयवासीको आरोप छ । जिल्ला अस्पताल र केही स्थानीय तहका केन्द्रमा मात्र कोरोना परीक्षण भएको छ । “कीट अभाव देखाउँदै परीक्षणको दायरा साँघुरो बनाइएकाले अझै धेरै कोरोनाका बिरामी हुनसक्ने आकलन छ । कोरोना सङ्क्रमितलाई परीक्षण नगरी गाउँ पठाउँदा समुदायस्तरमा सङ्क्रमण फैलिएको बताएको छ । भारतबाट आएका मानिस गाउँ पस्दा सङ्क्रमण फैलिएको छ ।
वैशाख पहिलो सातादेखि हालसम्म एन्टिजेन विधिबाट एक हजार ४०० जनाको कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५०७ को पिसिआरमार्फत कोरोना परीक्षण भएको हो । पिसिआर रिपोर्ट ढिलो आउँदा र परीक्षण गरिएका मानिस आइसोलेशनमा नबस्दा थप सङ्क्रमण फैलिने खतरा बढेको जिल्ला स्वास्थ्य व्यवस्थापक टीकाराम जैशीले बताउनुभयो । उहाँका अनुसार कार्यालयकै पहलमा कीट किन्न खोज्दा पनि काठमाडौँमा समेत कीट पाइएन । स्वास्थ्य कार्यालयले प्रदेश सरकारले पठाएका केही कीट स्थानीय तहलाई समेत वितरण गरेको थियो । खरिद गर्न खोज्दा कीट नपाइएपछि परीक्षणको काम प्रभावित भएको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताउनुभयो ।
पिसिआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणबाट जाजरकोटमा ९०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । करिब ४०० ले कोरोना जितेका छन् । जाजरकोटमा ५०० सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय समुदायस्तरमा सङ्क्रमित बढ्दै गएका छन् । कोराना सङ्क्रमणबाट अहिलेसम्म पाँच जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यता नलगाड नगरपालिकाले बिरामीको पहिचान गर्न पाँच टोली बनाएर गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा कोरोना संक्रमण शून्य
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७