

म्याग्दी । म्याग्दीका सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योग अभ्यासमा आकर्षण बढेको हो ।
जिल्ला सदरमुकाम बेनी बजारका साथै ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिकरूपमा योग अभ्यास गर्छन् । व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फुर्तिका लागि नियमित योग गर्ने गरेको बेनीको कालीपुलका व्यापारी तप्तबहादुर भण्डारीले बताउनुभयो । “दिनभर व्यवसायको कामले व्यस्त भए पनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, उहाँले भन्नुभयो, “योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।” उहाँले विगत पाँच वर्षदेखि नियमित योगाभ्यास गर्दै आउनुभएको छ ।
बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्छन् । बेनी नगरपालिका–७ मङ्गलाघाटकी रेणु शाक्यले अपच हुने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या नियमित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव सुनाउनुभयो । “योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ”, उहाँले भन्नुभयो “रक्तचाप व्यवस्थापन र रुघा लागिरहने समस्या निको भयो ।” जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नवीन आनन्द योग केन्द्रलगायत निकाय र सङ्घ संस्थाले म्याग्दीमा योग प्रशिक्षण सञ्चालन गरेका छन् ।
बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, बगरफाँटलगायतका स्थानमा योगाभ्यास सञ्चालन भएको छ । छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागि भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन् । योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक टीकाबहादुर जुग्जालीले बताउनुभयो । “गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ”, उहाँले भन्नुभयो, “आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।”
योगले मानिसको शरीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने योग प्रशिक्षक जुग्जालीले बताउनुभयो । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । मन्दिर, विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ । नियमितरूपमा एकै ठाउँमा योगाभ्यास सञ्चालन गर्ने ठाउँको अभाव भएको हो । सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन् । बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण भएको थियो । योग साधकको सङ्ख्या धेरै भएकाले पूर्वाधारको अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताउनुभयो ।
“बेनी नगरपालिका–८ हिलसाइडमा योग साधना भवन निर्माणका लागि तीन वर्षअघि छ आना जग्गा व्यवस्थापन गरेका थियौँ”, उहाँले भन्नुभयो, “बजेट र आर्थिक स्रोतको अभावमा भवन निर्माण गर्न सकेका छैनौँ ।” बेनीको क्याम्पसचोकका नारायण श्रेष्ठ र अम्बिका श्रेष्ठले तीन आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । तीन आना जग्गा खरिद गरिएको थियो ।
बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले योगको प्रवद्र्धनका लागि भवन निर्माणका लागि प्रदेश सरकारसँग पहल गरेको बताउनु भयो । जिल्ला समन्वय समितिको सभाहलको छतमा ट्रस राखेर योग साधनास्थल बनाउन छलफल चलाएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७