

दमौली । किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु गरेको हो ।
माघको पहिलो बुधबार बाट यो अभियान शुरु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । “किशोरीमा रक्तअल्पता हुने सम्भावना बढी भएकाले किशोरीलाई अहिल्यैदेखि नै आइरन चक्की खुवाउन शुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “सङ्घीय सरकारले यसलाई अभियानकै रूपमा सञ्चालन गरेको छ ।”
किशोरीलाई प्रत्येक बुधबार विद्यालयमै आइरन चक्की खुवाइन्छ । त्यसका लागि स्वास्थ्य शाखाले विद्यालय नजिक रहेको स्वास्थ्य संस्थामा आइरन चक्कीको व्यवस्थापन गरेको छ । स्वास्थ्य संस्थाले विद्यालयको समन्वयमा किशोरीलाई आइरन चक्की खुवाउने व्यवस्था मिलाउनेछन् । नगरपालिकाभित्र ७५ सामुदायिक र ४३ निजी विद्यालय छन् ।
सोतीका अनुसार १० देखि १९ वर्षभित्रका किशोरी तथा युवतीलाई आइरन चक्की खुवाइनेछ । उहाँका अनुसार साउन, भदौ, असोज, माघ, फागुन र चैतमा आइरन चक्की खुवाइनेछ भने कात्तिक, मङ्सिर, पुस, वैशाख, जेठ र असारमा आइरन चक्की खुवाइने छैन । “५२ हप्तामध्ये २६ हप्ताको बुधबार किशोरीले आइरन चक्की खान्छन्”, उहाँले भन्नुभयो ।
बाल्यावस्थापछि मानव शरीरमा हुने वृद्धि र विकासको दृष्टिकोणले दोस्रो महत्वपूर्ण अवधिको रूपमा लिइन्छ । किशोरावस्था भन्नाले बाल्यावस्था र वयस्क अवस्था बीचको मानव विकासको चरणलाई जनाउँछ । विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेर समूहलाई किशोरावस्था भनी परिभाषित गरेको छ । किशोरावस्थामा वयस्कावस्थाको ४० देखि ६५ प्रतिशत तौल र १५ देखि २० प्रतिशतसम्म उचाइ हासिल हुन्छ ।
किशोरावस्थामा तीव्र दरमा शारीरिक वृद्धि विकास हुने भएकाले पोषणको आवश्यकता बढी हुन्छ । पोषणतत्व अधिक आवश्यकता हुने भएता पनि विभिन्न कारण ९सामाजिक, सांस्कृतिक, आर्थिक, जीवनस्तर परिवर्तन, मनोवैज्ञानिक आदि०ले गर्दा पोषणयुक्त खानपानमा कमी हुने हुँदा न्यून पोषणको जोखिम हुन्छ, जसमध्ये रक्तअल्पता पनि एक हो । रक्तअल्पता भनेको शरीरमा रगतको कमी भएको अवस्था हो । रक्तअल्पताका कारणहरुमध्ये आइरनको कमी एक प्रमुख कारण हो ।
नेपालमा करिब ३५ प्रतिशत प्रजनन उमेरका महिला रक्तअल्पताबाट पीडित छन् भने ३९ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिएको तथ्याङ्क छ । नेपाल सरकारले रक्तअल्पताको समस्यालाई समाधान गर्न विभिन्न कदम चालिरहेको छ । विगत केही वर्षमा यसको प्रतिशत घटे पनि विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालका किशोरीहरुमा रक्तअल्पता मध्यम जनस्वास्थ्य समस्याको रूपमा रहको छ । यदि यो समस्या ४० प्रतिशतभन्दा बढी किशोरीमा देखिएमा गम्भीर समस्याको रूपमा रहने छ ।
–
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७