

डोल्पा । भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पा लगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन् ।
आज बिहानै नुहाइधुवाइ गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ । भाइटीका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटी जस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ ।
टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूसक्दो पैसा, धोती चोली लगायतका कोसेली दिएर टीका थाप्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोरा पनि आजको दिन घर पुग्ने गर्दछन् । कुनै काम विशेषले घर पुग्न नसक्ने छोराले टेलिफोनबाटै भए पनि आशीर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोसेली छुट्याएर राखिदिने गरिन्छ ।
छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घरघर तथा गाउँबस्तीमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ । यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटो लगायतका सार्वजानिक सम्पदा मर्मत सम्भार गरिन्छ भने बचेको रकमबाट वनभोज जाने गरिन्छ ।
आजको दिनमा महिला पनि सार्वजानिक स्थलमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने गरिन्छ । डोल्पालगायत कर्णालीका अन्य जिल्लामा मनाइने छोरा तिहार कर्णालीमा कतै पनि नमनाइने त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी रमानन्द उपाध्यायले बताउनुभयो ।
भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने उहाँले बताउनुभयो । यो भैलो तिहारको देउसीभन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने गर्दछ । भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाहरु सबै जना मिलेर पाठी भात (स्थानीय भाषामा) वनभोज खाने प्रचलन रहेको समेत उपाध्यायले बताउनुभयो । छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठमन्दिरमा गएर पुजारीको हातबाट टीका, अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा कोरोना संक्रमण शून्य
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७