TRENDING

सुदूरपश्चिमः प्रहरीलाई थुनुवा राख्ने कोठा नहुँदा समस्या

डोटी । सुदूरपश्चिम प्रदेशका प्रहरीलाई घटनाका आरोपितलाई थुनामा राख्न समस्या हुने गरेको छ । प्रदेशका अधिकांश प्रहरीचौकीमा थुनुवा राख्ने कोठा नहुँदा समस्या भएको बताइएको छ ।

विगतको सशस्त्र द्वन्द्वका समयमा भत्काइएका अधिकांश प्रहरीचौकी अहिलेसम्म पनि पुनःनिर्माण नहुँदा तथा ग्रामीण क्षेत्रमा प्रहरीका आफ्नै भवन नहुँदा थुनुवा राख्न समस्या हुने गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार प्रदेशमा सशस्त्र द्वन्द्वको समयमा भत्काइएका चार दर्जनभन्दा बढी प्रहरी एकाइमध्ये हालसम्म १५ भवन मात्रै निर्माण भएका छन् । केही निर्माणका क्रममा रहेका कारण थुनुवा राख्न झनै समस्या भएको छ ।

यसरी पुनःनिर्माण भएका प्रहरीचौकीमा अछामको इलाका प्रहरी कार्यालय बयलपाटा र विनायक, डोटीमा इलाका प्रहरी कार्यालय बिपीनगर, इलाका प्रहरी कार्यालय दिपायल, प्रहरीचौकी वायल र प्रहरीचौकी बोगटान, डडेल्धुरामा प्रहरीचौकी पोखरा, कैलालीमा इलाका प्रहरी कार्यालय फल्टुडे र इलाका प्रहरी कार्यालय चौमाला, कञ्चनपुरमा इलाका प्रहरी कार्यालय झलारी, बैतडीमा इलाका प्रहरी कार्यालय पाटन र इलाका प्रहरी कार्यालय तस्सोदेही, बाजुरामा प्रहरीचौकी तिल्लिचौर, दार्चुलामा सीमा प्रहरीचौकी लाली र इलाका प्रहरी कार्यालय गोकुलेश्वर तथा बझाङमा प्रहरीचौकी मेलबिसौना छन् ।

थुनुवा राख्ने ठाउँ नभएका कारण यहाँका अधिकांश प्रहरीचौकीका प्रहरीले थुनुवालाई आफूसँगै राखेर सुत्न बाध्य भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय प्रहरीचौकीमा अहिलेसम्म पनि थुनुवा राख्ने अलग्गै ठाउँ छैन, राति भागे समस्या पर्छ, त्यसैले थुनुवालाई आफूसँगै राखेर सुत्न बाध्य छन् ।”

कहिलेकाहीँ प्रहरीको भन्दा थुनुवाको सङ्ख्या बढी हुने भएकाले पनि थुनुवा राख्ने ठाउँ भएका प्रहरीचौकीमा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक लालबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “कयौँ प्रहरी कार्यालय पुनःनिर्माण गरिएका छैनन्, निर्माण भएका ठाउँमा पनि थुनुवा राख्ने ठाउँ कमी हुने भएकाले झन समस्या हुने गरेको छ ।”

पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित इलाका प्रहरी कार्यालय पियलमा थुनुवा कोठाको अभावमा समस्या हुँदै आएको प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “ प्रहरी भवन निर्माण प्रक्रियामा छ, हामी विमानस्थलमा सरेका छौँ, यहाँ हिरासत नभएका कारण थुनुवा राख्न समस्या भएको छ, थुनुवा राख्ने ठाउँ नहुँदा हामी जिल्ला प्रहरी कार्यालय पठाउन बाध्य छौँ ।” यति मात्र नभइ यहाँका प्रहरी चौकीमा महिला थुनुवा राख्ने ठाउँ नभएका कारण पनि प्रहरीलाई झनै समस्या हुँदै आएको बताइएको छ ।

जिल्लाको जोरायल, विपीनगर, बायल, बोगटान तथा जिल्ला प्रहरी कार्यालय बाहेक अन्य क्षेत्रमा रहेका प्रहरीचौकीमा महिला थुनुवा राख्ने ठाउँ नभएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरी चौकीमा महिला र पुरुष थुनुवा राख्ने अलग्गै हिरासत कक्ष बनाउनुपर्ने नेपाल प्रहरीको मापदण्ड भए पनि यहाँका ग्रामीण क्षेत्रका स्थानीय तहमा निर्माण भएका चौकीमा महिला हिरासत कक्ष नभएकाले कुनै कारण बस महिला बन्दी थुन्नु परे समस्या उत्पन्न हुने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताउनुभयो ।

उहाँले भन्नुभयो, “इलाका तथा प्रहरीचौकीमा अनिवार्य महिला हिरासत राख्नुपर्ने मापदण्ड तोकिएको छ तर कतिपय प्रहरीचौकीमा महिला थुनुवा कक्ष नहँुदा समस्या भएको छ, महिला थुनुवा कक्ष निर्माणका लागि हामीले पहल गरिरहेका छौँ ।” प्रत्येक प्रहरी युनिटमा महिला पुरुष थुनुवा कक्ष अलग्गै हुनुपर्ने तथा शौचालयसमेत सोहीभित्र निर्माण गरिनुपर्ने प्रहरीको मापदण्डमा भए पनि सुदूरपश्चिमका अधिकांश प्रहरी युनिटमा यो लागू नभएको पाइएको छ ।