

घर कहाँ हो ? म्याग्दी ।
आहा सुन्दर !
म्याग्दीबारे बताउँदा जोकसैको मुखबाट यस्तै प्रतिक्रिया आउँछ । तर, यसको सुन्दरताभित्र उत्तिकै विकटता पनि छ ।
धौलागिरि गाउँपालिका–७ बगरका भुवन थापा कक्षा ८ मा पढछन् । उनलाई विद्यालयसम्म पुग्नका लागि निकै मिहिनेत गर्नुपर्छ । हरेक दिन विद्यालय आउजाउ गर्न उनलाई चार घण्टा लाग्छ । जान दुई घण्टा । फर्कन दुई घण्टा । बिहान ८ बजे नै पाकेको गाँस टिपेर हिड्छन्, भुवन थापा । विद्यालय पुग्दा थकान र भोक पीडित भएका उनले घर फर्किदा रात परिसकेको हुन्छ । किताव खोल्न नपाई निदाउँछन् ।
थापा त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लाकै विकटमध्येको एक धौलागिरि गाउँपालिका–७ बगरका बालबालिका गाउँमा विद्यालय नभएपछि दैनिक चार घण्टा हिडेर धारापानीको किसानी माध्यमिक विद्यालय जान बाध्य छन् । थापा अहिले धौलागिरि गाउँपालिकाले शिवाङको हेम माविमा सञ्चालन गरेको नमूना आवासीय माविको छात्रावासमा बस्न थालेका छन् ।
छात्रावासमा बस्न थालेपछि एक मिनेटमै कक्षा कोठामा पुग्न पाउँदा उनी दङ्ग छन् । “आठ बजेनै खाना खाएर स्कूल पुग्दा भोक लाग्थ्यो”, उहाँले भन्नुभयो, “साँझ ६ः३० बजे घर आउँदा थकाइ लागेर गृहकार्य गर्न सकिँदैनथ्यो । होस्टेलमा बस्न थालेपछि सजिलो भएको छ । गृहकार्य गर्न र पढ्न पाएको छु ।” आवासीय विद्यालय सञ्चालन भएपछि थापाजस्तै विकट क्षेत्रका विपन्न बालबालिकालाई आधारभूतस्तरको शिक्षा हासिल गर्न सहज भएको छ । सरकारी विद्यालयमा आवासीय सुविधा भएपछि दैनिक तीन/चार घण्टा दुःख कष्टका साथ भिर, जङ्गल र खोलाको बाटो पैदल हिँडेर जङ्गली जनावरलाई छलेर स्कूल जानुपर्ने समस्या हटेको छ । गरिबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्ने क्रम घटेको छ । हाल कक्षा १ देखि १० सम्म अध्ययन गर्ने २२ जना बालबालिकाले आवासीय सुविधा पाएका छन् । पालिकाभर आवासीय विद्यालयमा राख्नुपर्ने ७६ जना विद्यार्थी पहिचान भएका छन् । उनीहरु सबैलाई आवासीयमा भर्ना गर्ने तयारी छ ।
धौलागिरि गाउँपालिका र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको साझेदारीमा चालु शैक्षिक सत्रदेखि सञ्चालन भएको आवासीय विद्यालयमा गरिब, अभिभावक अपाङ्गता भएका, अनाथ र नजिक विद्यालय नभएका कारण शिक्षा हासिल गर्नबाट वञ्चित विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको हो । विकट र थोरै घरधुरीको बसोबास भएको बस्तीका बालबालिका आधारभूतस्तरको शिक्षा हासिल गर्नका लागि दैनिक दुई तीन घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने, पढ्नका लागि डेरा र आफन्तकहाँ बस्नुपर्ने समस्या अन्त्यका लागि आवासीय विद्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।
“एउटा बस्तीबाट अर्को बस्तीमा पुग्न दुई तीन घण्टा हिँड्नुपर्ने छ । थोरै घरधुरी भएको त्यस्ता गाउँमा विद्यालय सञ्चालन गर्न विद्यार्थी पुग्दैनन् । नजिक विद्यालय नभएकाले धेरै बालबालिकाले पढ्न नपाउने अवस्था छ”, उहाँले भन्नुभयो, “विकटका साथै अभिभावक अपाङ्गता भएका, अभिभावक नभएका र अरुको घरमा बसेका बालबालिकालाई पनि शिक्षाको पहुँचमा ल्याउन प्रदेश सरकारले अघि सारेको अवधारणाअनुसार आवासीय विद्यालय शुरु गरेका हौँ ।” आवासीय विद्यालय सञ्चालन व्यवस्थापनका लागि गत आर्थिक वर्षमा धौलागिरि गाउँपालिकाले १५ लाख ९७ हजार र सामाजिक विकास मन्त्रालयले रु दुई लाख ८० हजार सहयोग गरेका हेम माविका प्रअ शेरबहादुर केसीले बताउनुभयो । “तत्कालाई पुरानो छात्रावास भवनमा फर्निचर र लत्ताकपडाको व्यवस्थापन गरेर विद्यार्थीलाई राखिएको छ”, उहाँले भन्नुभयो “गाउँपालिकाको सहयोगमा होस्टेल बस्ने विद्यार्थीलाई खाना, खाजा, पोशाक, शैक्षिक सामग्रीको निःशुल्क व्यवस्था गरेका छौँ ।” उहाँका अनुसार छात्रावासका एक जना वार्डेनसहित तीन जना कर्मचारीको तलब गाउँपालिकाले उपलब्ध गराएको छ ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७