TRENDING

१६ दिने अभियान चलिरहँदा आयो यस्तो घटना, एक तोला सुनमा बलात्कारको घटना ढाकछोप !

बैतडी । बैतडीमा बलात्कारको घटना एक तोला सुनमा मिलापत्र गरेर गाउँमै मिलाउन खोजिएको कुरा बाहिर आएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेकै समयमा सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरीमाथि गत जेठमा बलात्कार भएको घटना बाहिर आएको हो ।

१८ वर्षीय किशोरीमाथि सोही ठाउँका दीपकसिंह धामीले बलात्कार गरेको कुरा झण्डै ६ महिनापछि बाहिर आएको छ । गत जेठमै बलात्कार भए पनि कात्तिक मसान्तमा पीडित पक्षलाई एक तोला सुन दिने सर्त राख्दै तमसुक बनाइएको र कात्तिक मसान्तमा सुन दिनुको सट्टा पीडकले पीडित पक्षलाई धम्क्याउन थालेपछि बलात्कारको घटना बाहिर आएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुुभयो ।

१८ वर्षीया किशोरीमाथि साँझको समयमा बलात्कार भएको र त्यो घटनालाई गत असार १४ गते गाउँमै तमसुक बनाएर मिलाएको पाइएको होे ।

‘पीडित पक्षसँगको प्रारम्भिक कुराकानीपछि किशोरीमाथि बलात्कार भएको देखिएको छ । उनीहरुलाई सुन दिने प्रलोभनमा घटना लुकाएको पाइएको छ । हामीले यो घटनामा सूक्ष्मरूपले अनुसन्धान अगाडि बढाएका छौं । घटनामा संलग्न सबैलाई कानुनी कठघरामा ल्याइनेछ ।’ –अधिकारीले भन्नुभयो ।

पीडित पक्षले अहिलेसम्म प्रहरीमा जाहेरी नदिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । (नेस)