TRENDING

ब्रिक्स सम्मेलन सम्पन्न, विकासोन्मुख देशहरुको सहभागीता बढाउनुपर्नेमा जोड

काठमाडौं । ब्रिक्सको भर्चुअल सम्मेलन सम्पन्न भएको छ । विश्वका चार उदयीमान अर्थतन्त्र भएका मुलुक ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको एक संगठन ब्रिक्सले बहुपक्षीयतामा जोड दिंदै सम्मेलन सम्पन्न गरेको हो । कोरोना कहरका बीच सो सम्मेलनलाई भर्चुअल रुपमा गरीएको हो ।

सम्मेलनले अहिले विश्वमा देखा परेका समस्याहरु समाधान गर्नका लागि अझ नजिकको सहकार्य गर्नुपर्ने र अन्तर्राष्ट्रिय संगठनहरुलाई अझ सुदृढ पार्नु पर्नेमा जोड दिएको छ । सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ, ‘हामी बहुपक्षीयता र पारस्परिक सम्मान, सार्वभौम समानता, प्रजातन्त्र, समावेशी र सुदृढ सहकार्यको सिद्धान्तप्रति पुनः जोड दिन चाहान्छौं ।’ सम्मेलनले अन्तर्राष्ट्रिय शासन प्रणालीलाई अझ सुदृढ गर्नुपर्ने र निर्णय प्रक्रियामा विकासोन्मुख देशहरुको सहभागीता बढाउनुपर्नेमा जोड दिएको छ । सम्मेलनले संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, अन्तराष्ट्रिय मुद्रा कोष र अन्य अन्तर्राष्ट्रिय संस्थालाई प्रभावकारी बनाउनुपर्ने र ती संस्थामा सुधारसमेत गर्नुपर्नेमा जोड दिएको छ ।

सम्मेलनाई सम्बोधन गदै चिनियाँ राष्ट्रपति सी चिनफिङले कोभिड–१९ लगायतका महामारीलाई पराजित गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले सम्बोधनमा क्रममा बहुपक्षीयतालाई विशेष जोड दिएका थिए ।

पछिल्लोपटक चिनियाँ अधिकारीहरुले बहुपक्षीयताको प्रवर्द्धनमा विशेष जोड दिन थालेका छन् । राष्ट्रपति सीले दीर्घकालीन विकास र वातावरण संरक्षणमा जोड दिएका थिए ।

त्यसैगरी सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ भ्याक्सिन उत्पादन र आतंकवाद नियन्त्रणमा सबै मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । सन् २००९ मा पहिलो सम्मेलन गरेको यस संगठनको आगामी सम्मेलन भारतमा हुने तय भएको छ ।