TRENDING

मुगु बस दुर्घटना : मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं । मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिए ।

प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पुर्‍याइएको थियो । घाइतेको बाँकेको कोहलपुर र नेपालगञ्ज मेडिकल कलेज उपचार भइरहेको छ । सामान्य घाइते ६ वर्षीया एक बालिकाको मुुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

accident