काठमाडौं । नेपालीहरु औसतभन्दा धेरै भात खाने गरेको अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको अध्ययनअनुसार नेपालीहरु वार्षिक औसतभन्दा १६ किलो बढी चामल खाने गरेको देखिएको हो ।
एक व्यक्तिले प्रतिवर्ष औसत १ सय २१ किलो चामल उपभोग गर्ने मापदण्ड संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले तय गरेको छ । तर, नेपालीहरुले प्रतिव्यक्ति १ सय ३७ किलो चामल एक वर्षमा उपभोग गर्ने गरेको मन्त्रालयको अध्ययनले देखाएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कले गरेको अध्ययनले यस्तो देखाएको र त्यो केही समयमै प्रकाशनको तयारीमा रहेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । नेपालीले चामलको प्रयोग चाहिने भन्दा अधिक मात्रामा गरिरहेको सञ्जेलले बताए । सञ्जेलका अनुसार चामलको अधिक प्रयोगका कारण उत्पादनले नधानेर आयात समेत बढिरहेको छ ।
‘नेपालीको औसत चामलको उपभोगमा १६ किलो अधिक देखिएको छ,’ सञ्जेलले भने, ‘चामल प्रयोगमा देखिएको व्यापकता र उत्पादनको संकुचन आउँदा परनिर्भरता बढिरहेको छ ।’
भातमाथिको परनिर्भरता हटाउन उत्पादन बढाउने काम गर्न तत्काल सम्भव नभएको र अब विस्तारै खानाको बानी सुधार गर्ने र वैकल्पिक आहारमा जोड गर्दै क्रमिक रूपमा उत्पादनका कामहरू बढाउनुपर्ने उनको भनाइ छ ।
नार्कका अनुसार चामलको बढ्दो प्रयोग र बढिरहेको जनसंख्या अनुसार धानको उत्पादन बढ्न नसकेकाले परनिर्भरता बढ्दैछ । केन्द्रका धान विज्ञ डा। सुशील सुवेदीका अनुसार नेपालको धानमा उत्पादकत्व बढ्दै गए पनि बढ्दो जनसंख्यालाई भात नै खुवाउन भने यो उत्पादन वृद्धिले थेग्न सक्ने अवस्था देखिंदैन ।
एक अध्ययनअनुसार नेपालको विगत ५४ वर्षमा धान उत्पादन वृद्धि र जनसंख्या वृद्धि हेर्दा धान वृद्धि १।५ प्रतिशत छ भने जनसंख्या वृद्धि २।३ प्रतिशत छ । धान अपुग हुँदै जाने पहिलो आधार यही भएको उनले बताए । सुवेदीकाअनुसार नेपालमा प्रतिव्यक्ति चामल खपत वार्षिक १३७ केजीसम्म छ । विवरणहरुअनुसार नेपाल दक्षिण एशियामा तेस्रो धेरै भात खाने मुलुकमा पर्छ । दक्षिण एशियामा सबैभन्दा धेरै भात बंगलादेशमा खाइन्छ । बंगलादेश विश्वमा प्रतिवर्ष धेरै चामल खपत गर्ने मुलुकको सूचीमा पहिलो नम्बरमा पर्छ । लाओस र बंगलादेश विश्वमा सबै भन्दा धेरै प्रतिवर्ष प्रतिव्यक्ति चामल खपत गर्ने मुलुकमा पर्छन् । दुवै मुलुकमा प्रतिवर्ष प्रतिव्यक्ति चामलको खपत २६६ किलो छ । यस्तै श्रीलंकको पनि प्रतिवर्ष प्रतिव्यक्ति चामलको खपत १६४ किलो छ ।
उनकाअनुसार नेपाललाई धानमा आत्मनिर्भर हुन करिब ७९ लाख ३७ हजार मेट्रिक टन चाहिने देखिन्छ । जसमध्ये चामलको रूपमा ६८ लाख ९० हजार मेट्रिक टन धान आवश्यक रहेको छ । यस्तै १० लाख ४७ हजार टन धान अन्य प्रयोजन जस्तै पेय पदार्थ, पशु आहारा र बिउको रूपमा प्रयोग भइरहेको छ । नेपालमा वार्षिक करिब ४२० लाख लिटर रक्सी बनाइने गरेको तथ्याङ्क छ जसमा २० प्रतिशत रक्सी चामलबाट बन्ने अनुमान छ ।
यस तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा वार्षिक रूपमा उत्पादन हुने करिब ५५ लाख मेट्रिक टन धानमध्ये करिब २४ लाख मेट्रिक टन अपुग देखिन्छ । जुन भनेको करिब १२ देखि १४ लाख मेट्रिक टन चामल अपुग हुनु हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको चालु आवको तथ्याङ्कअनुसार गत वर्षभन्दा यो वर्ष धानको उत्पादन साढे तीन लाख मेट्रिक टनले बढेको छ । चालु आवमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ । जुन गत वर्षभन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो ।
आव २०७८र७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३।७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गत वर्षको भन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार गत वर्षभन्दा धान रोपाइँ हुने क्षेत्रफल घट्दा पनि धान उत्पादनमा भने वृद्धि हुने देखिएको छ । यो वर्ष धान उत्पादन हुने २० हजार हेक्टर क्षेत्रफलमा घटेको छ । गत वर्ष कुल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७४र०७५ मा नेपालमा १४ लाख ६९ हजार ५४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७५र०७६ मा १४ लाख ९१ हजार ७४४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको थियो ।
आव २०७६–७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, जसबाट ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, आव २०७७र०७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।
रोचकबाट थप समाचार
गाउँको पाखोबारीमा चियाखेती
साउनको पहिलो सोमवार : देशभरका शिवालयमा भक्तजनको भिड
वर्षमा औसतभन्दा १६ किलो बढी भात खान्छन् नेपाली
समुद्रबाट निस्कियो १६ फिट लामो ‘दैत्य’ ! मानिसहरू आतंकित
जंगलभित्र रहेका यस्ता छक्कै पार्ने घरहरू
आईपीएल क्रिकेटमा बेंगलुरुले पञ्जाबलाई ६० रनले हरायो
बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय
बिहानैदेखि बाग्मती, गण्डकी र कोशी प्रदेशमा वर्षा
संसदको बजेट अधिवेशन सुरु हुँदै
रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८