TRENDING

नेपाल हेर्ने चीनको ‘बेइजिङ प्लस थ्री’ नीति

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौदिने चीन भ्रमण सकेर सोमबार बिहान स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठको भ्रमण कूटनीति, राजनीतिक र धार्मिक रूपमा बढी चर्चामा रह्यो । तर चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा राजधानी बेइजिङसँगै अन्य थप तीन सहर भ्रमण गरेका उपप्रधानमन्त्री श्रेष्ठको यात्रा अर्थपूर्ण देखिन्छ ।

नेपाल हेर्ने चीनको ‘बेइजिङ प्लस थ्री’ नीति
उनले बेइजिङपछि अर्को ठूलो सहर छोङछिङ, तिब्बतको ल्हासा र सिचुवान प्रान्तको छेन्दुमा दुई पक्षीय उच्चस्तरीय भेटवार्ता गरे । ती तीनै क्षेत्र नेपालसँग जोडिएका वा नजिक रहेका चिनियाँ भूभाग हुन् ।

श्रेष्ठको भ्रमणलाई उत्तरी छिमेकको ‘बेइजिङ प्लस थ्री’ नीतिसँग जोडेर हेरिएको छ । चीनले पछिल्लो समय बेइजिङमा नीति निर्माण गर्छ भने तिब्बत, सिचुवान र छोङछिङबाट लगातार रूपमा द्विपक्षीय भेटवार्ता आदानप्रदान गरिरहेको छ । उपप्रधानमन्त्री श्रेष्ठको आइतबार सकिएको नौदिने भ्रमणलाई पनि त्यही नीति अनुरूप लिन सकिन्छ ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणबारे कान्तिपुरसँग भने, ‘यो भ्रमणमा नेपाल–चीन आर्थिक विकास करिडोरअन्तर्गत तिब्बत, सिचुवान र छोङछिङको तीन वटा स्थानमा बढी जोड दिएको छु । नेपालको आर्थिक विकास गर्नुपर्‍यो भने हामी ती तीन वटा क्षेत्रसँग जोडिनुपर्छ ।’