TRENDING

जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर मेला, भोज, पार्टी तथा भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गर्नुभएको हो । साथै हातको सरसफाइमा ध्यान दिन पनि अनुरोध गरिएको छ ।

मन्त्रालयले कोरोनाको नयाँ सङ्क्रमणलाई ध्यानमा राखेर सीमा नाकामा निगरानी तथा हेल्थ डेस्क र सम्पूर्ण सरोकारवालामार्फत आवश्यक तयारी भैरहेको जनाएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वान देखिएपछि नेपालमा पनि जोखिम छ । भारतको दिल्ली, चन्डीगढ, बेंगलोर र हैदरावादलगायतका क्षेत्रबाट नेपाल आउनेमा कोरोनाको सङ्क्रमण देखिने गरेको छ ।

सङक्रमण देखिनेहरुको नमुना परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाउने गरिएको छ । नयाँ भेरिएण्ट जेएन वान हो वा होइन भन्ने पहिचान गर्न प्रयोगशालामा नमुना पठाइन्छ । जेएन वान भारतसहित चीन, अमेरिका, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स, मलेसियालगायत देशमा फैलिइरहेको छ । तर नेपालमा अहिलेसम्म नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि भैसकेको छैन ।