TRENDING

‘अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजार सेना तैनाथ गर्न तयार’

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । घानाको आक्रामा भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्री स्तरीय सम्मेलनलाई सम्बोधनका क्रममा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले संयुक्त राष्ट्रका महासचिवको पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएको समेत बताउनुभयो । यसले शान्ति सैनिकहरूको सुरक्षा तथा सुरक्षाका आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उहाँको भनाइ छ । “हामीले हाम्रा सैनिकहरूलाई जस्तोसुकै चुनौतीपूर्ण अवस्थामा पनि तैनाथीका लागि तयार राखेका हुन्छौँ। हामी सुनिश्चित गर्छौँ कि हाम्रा शान्ति सैनिकहरूले आचरण र अनुशासनको उच्चतम मापदण्ड पूरा गर्छन् । हामी यौन शोषण र दुर्व्यवहार विरुद्ध शून्य सहनशीलता नीतिलाई दृढतापूर्वक पालन गर्छौँ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।

नेपाल शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टी/पिसिसि लगायत सम्बन्धित प्रमुख सरोकारवालाहरूबिच सुधारिएको समन्वय संयन्त्र धेरै महत्त्वपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्ने उहाँले बताउनुभयो । उहाँले शान्ति स्थापना साझेदारीपूर्ण कार्य भएको र घोषित लक्ष्य पूरा गर्न सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । उपप्रधानमन्त्री खड्काले नेपाल यस वर्ष विशेष सुरक्षा बल र तत्काल प्रतिकार्य बललाई कायम राख्दै एउटा मेकानाइज्ड इन्फन्ट्री बटालियन र दुई वटा इफपीयू र आरडीएलमा स्तरोन्नति गर्न प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले नेपाल इओडी इकाई, एकल इकाई, रेकी इकाइ, क्यूआरएफ कम्पनी र एमपी कम्पनीलाई समेत स्तरोन्नति गर्न प्रतिबद्धता जनाउनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले नेपालले संयुक्त राष्ट्रसङ्घका महासचिवको लैङ्गिक समानता रणनीतिको लक्ष्य पूरा गर्न महिलाहरूलाई अपरेसनल भूमिकामा परिचालन गर्दै अर्थपूर्ण सहभागिता बढाउने कार्यलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । नेपाल संयुक्त राष्ट्र सङ्घको संरक्षणमा विश्व शान्तिका लागि दृढ प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

नेपाल सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा निरन्तर योगदान दिँदै आइरहेको छ । नेपाल शान्ति स्थापनाका लागि विश्वभरका १६ विभिन्न मिसनमा छ सय १६ महिलासहित छ हजार दुई सय ७८ शान्ति सैनिकहरू तैनाथी गरी दोस्रो ठूलो शान्ति सेना र प्रहरी खटाउने देशका रुपमा रहेको छ । शान्ति स्थापनाका क्रममा हालसम्म ८६ शान्ति सैनिकले आफ्नो प्राण त्याग गरेका छन् भने ६६ जना घाइते भएका छन् ।

हिजो भएको सम्मेलनको उद्घाटनमा घानाका उपराष्ट्रपति महमुदु बहुमियाले विश्व शान्ति, स्थिरता र सुरक्षाका लागि सबै देशबीच सहकार्य हुनुपर्नेमा जोड लिनुभयो । ‘पिस बिगन्स विथ मि’ भन्ने नाराका साथ हिजोदेखि सुरु भएको सम्मेलनमा करिब ९० देशका प्रतिनिधि मण्डलको सहभागिता थियो ।

सम्मेलनले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनलाई थप प्रभावकारी बनाइ विश्व शान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोगका साथै सम्मेलनमा व्यक्त भएका प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।