TRENDING

चीनमा देखिएको निमोनिया जस्तो रहस्यमय रोगले नेपालमा समेत चिन्ता, निगरानी बढाउनका लागि स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । पछिल्लो पटक उत्तरी छिमेकी मुलुक चीनमा देखिएको निमोनिया जस्तो रहस्यमय रोगले नेपालमा समेत चिन्ता बढाएको छ । नेपालमा पनि यो रोगको बारेमा अलर्ट जारी गरिएको छ भने निगरानी बढाउनका लागि स्वास्थ्य मन्त्रालयले निर्देशनसमेत दिइसकेको छ । यो रोगको बारेमा खुलेर जानकारी उपलब्ध नगराएकोमा नेपालले चीनसंग गुनासोसमेत गरिसकेको दावी गरिन्छ ।

नेपालका स्वास्थ्य अधिकारीहरु कुनै पनि संस्थाले आफूहरुलाई चीनमा निमोनिया जस्तो रहस्यमय प्रकोपको बारेमा कुनै पनि किसिमको सचेतता नगरेको बताउँछन् । विश्व स्वास्थ्य संगठनले यो नयाँ समस्याका बारेमा जानकारी दियो, तबमात्र नेपालले यस रोगको बारेमा अलर्ट जारी गरेको हो ।

यसबारेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक एवम् सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यसबारेमा ध्यान दिएर अध्ययन एवं फलोअप गरिरहेको बताएका छन् । ‘यो के हो त भन्ने ठ्याक्कै थाहा भएको छैन, डापुन भन्छन्– ‘भाइरस हो कि ब्याक्टेरिया हो कि, के हो त्यो अझै थाहा भएको छैन । स्वास– प्रश्वास सम्बन्धि समस्या भएकाले र छिमेकी राष्ट्रमा देखिएको समस्या भएका कारण चिन्ताको विषय त बन्छ । तर यसबारेमा गहन रुपले अध्ययन गरिनु पर्छ, ध्यान दिनु पर्छ ।’

डा.पुनका अनुसार चीनमा फैलिएको निमोनियाको लक्षणहरुमा ज्वरो आउने, सास फेर्न गाह्रो हुने,निमोनिया हुने त भइहाल्यो, तर यो अज्ञात निमोनिया हो । यो खतरनाक छ भनिहाल्नु भन्दा पनि जुन बेलामा कोभिड–१९ भएको थियो, त्यो बेलामा पनि स्थिति त यस्तै त हो नी । कोभिड–१९ को जुन उदाहरण छ, त्यो उदाहरणलाई मान्ने हो भने अहिलेको निमोनियालाई वेवास्ता गर्नु त हुँदै हुँदैन ।’

डा.पुनका अनुसार उनले चीनमा त यो रोग ठूल्ठूला अस्पतालमा दैनिक १२०० को हाराहारीमा पनि भएको भनि सञ्चार माध्यमबाट जानकारी पाएका छन् । ‘तर यसको परफेक्ट, क्लियर कट जानकारी भने कतै देखिएको छैन, उनी भन्छन् ।

‘कोभिड–१९ को शुरुवातमा मैले नै त्यसलाई फलोअप गरेको थिएँ, पछि त सञ्चार माध्यममा पनि आयो । तर त्यो बेलामा मैले नै लेखहरु लेखेको अझै याद छ । अहिलेको अप्ठ्यारो भनेको एकै पटक धेरै जना विरामी हुँदा अर्को देशमा पनि फैीलन्छ भन्ने डर हो । यस बारेमा धेरै कुरा थाहा त छैन, तर अज्ञात संक्रामक रोगले संक्रमण गरिरहेको छ, डा। पुन भन्छन्– ‘यदि मान्छेबाट मान्छेमा सजिलै सरिरहेको छ, बालबालिकालाई धेरै दुःख दिइरहेको हो भने पनि यसले भोलिका दिनमा एक देशबाट अर्को देशमा फैलिने सम्भावना धेरै हुन्छ ।’

डा.पुनका अनुसार चीनमा यो संक्रमण बालबालिकामा धेरै भएको देखिन्छ । चीनमा अहिले भइरहेको र जुन जानकारी आइरहेको छ, त्यसलाई आधार मान्ने हो भने अहिले बालबालिकामा यो संक्रमण धेरै भएको देखिन्छ । तर बालबालिकामा मात्र सिमित नरहि वयस्कमा पनि संक्रमण हुन्छ । तर वयस्कलाई खासै समस्या नदेखिएको अहिलेको अवस्थामा त्यो वयस्कले अर्को आफ्नो बालबालिकालाई संक्रामक गर्ने भएकाले यो रोग कुनै पनि देशमा नफैलिएला भन्न सकिँदैन । यो रोग खोकिबाट पनि सर्ने भएकोले मानिसहरु अहिले संसारभरी सजिलै आवतजावत गरिरहेका अवस्थामा यो रोग फैलन सक्ने सम्भावना छ ।

‘एकै पटक यति धेरै बालबालिका विरामी भएको हुँदा र कोभिड १९ लाई उदाहारण लिनु पर्दा यो रोग चीनबाट बाहिरी देशहरुमा पनि फैलिन सक्छ, डा.पुन भन्छन्– ‘कोभिड–१९ पनि पहिला ४०–५० जनामात्र संक्रमित हुँदै संसार नै हल्लाएको थियो । यतिबेला नेपालमा पर्यटकको बाक्लो उपस्थित रहेको हुँदा हामीले सर्तक रहनु अति आवश्यक छ ।’

के कारण यो संक्रमण हुन्छ भन्ने थाहा नभएकाले उपचार प्रद्धति भनेको अहिलेलाई ज्वरो तथा रुघा–खोकिको जस्ती भएको डा.पुनको भनाइ छ ।

विशेषज्ञहरुका अनुसार इन्फ्लूएन्जा कोभिड र रेस्पिरेटरी सिन्काइटियल नेपालमा फैलने सामान्य भाइरस हुन, जुन निमोनियाको कारण बन्छ । विशेष रुपले बालबालिकामा माइकोप्लाज्मा निमोनिया र न्यूमोकोकस संक्रमण जाडोयामको शुरुवातबाटै हुन्छ ।

चीनमा फैलिरहेको रहस्यमयी निमोनियाको प्रकोपका लागि पनि यो भाइरस र ब्याक्टेरिया जिम्मेवार मानिन्छ । यो सबै भाइरस र ब्याक्टेरिया हाम्रो देशमा पनि छ । त्यसैले यी सबै स्थितिमाथि नजर राख्नुको साथै नियमित निगरानी भइरहेको डा.पुनको भनाइ छ ।

नेपालमा कार्तिक–मंसिरमा फ्लू र स्वास सम्बन्धि रोगको समस्या बढ्छ । विशेषज्ञहरुका अनुसार स्वाससंग सम्बन्धित भाइरस इन्फ्लूएन्जा ए९एच १एन०,ए९एच ३० र इन्फ्लूएन्जा बीको संक्रमण पहिला नै बढिसकेको छ ।

यद्यपि, स्वास्थ्य मन्त्रालयले कोभिड वृद्धिको बारेमा पनि सूचना दिएको थिएन । यसबाहेक पनि नेपालमा धेरै कम मानिसले मात्र फ्लूविरुद्धको खोप लगाएका छन् । त्यसैले खोप नलगाएका मानिसलाई गम्भीर संक्रमण हुने खतरा हुन्छ । त्यसैले यो स्थितिलाई विशेष ध्यान दिनु आवश्यक छ ।