TRENDING

इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीचको द्वन्द्वका कारण गाजाका ५० हजार गर्भवती जोखिममा

अभिभ  । इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीचको द्वन्द्वका कारण गाजा क्षेत्रका ५० हजार गर्भवती आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेको संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनस्थित जनसांख्यिक कोष यूएनएफपीए ले जनाएको छ । उक्त संस्थाका अनुसार गाजामा यस महिना ५ हजार ५ सय महिलाले बच्चा जन्माएका छन् । यी महिलालाई तत्काल स्वास्थ्य सेवा र सुरक्षाको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ ।

यूएनएफपीएले सामाजिक सञ्जाल एक्समा एक स्टाटस राख्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवता कानुन तथा मानवअधिकारसम्बन्धी कानुन पालना गर्न पनि आग्रह गरेको छ । उक्त संस्थाका निर्देशक डोमिनिक एलेनले अमेरिकी समाचार संस्था सीएनएनसँगको अन्तर्वार्तामा गाजामा स्वास्थ्य सेवा जटिल अवस्थामा रहेको बताएका छन् ।

‘स्वास्थ्य सेवामा आक्रमण भइरहेको छ र संकटको अवस्थामा छ,’ उनले भने, ‘ती महिलाहरू, जसका बारेमा हामी चिन्ता प्रकट गरिरहेका छौं, उनीहरूको कतै जाने ठाउँ छैन ।’ उनीहरूले अकल्पनीय चुनौती भोगिरहनुपरेको निर्देशक एलेनले बताए ।

उनले गाजा क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन पनि सबै पक्षसँग आग्रह गरे । ‘गाजामा मानवीय करिडोर खुला गर्न आवश्यक छ । यस्तै, मानवीय कानुन पनि पालना गर्नुपर्छ । अनि मात्र, गर्भवती तथा सुत्केरीले स्वास्थ्य सेवा प्राप्त गर्नेछन्,’ उनले भने ।