TRENDING

इजरायलबाट २५४ नेपाली विद्यार्थीको हवाई उद्धार

काठमाडौँ । इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ । विद्यार्थी लिन सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान पठाएको थियो । आरए २२९–२३५३ को विमान बिहान ४ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो ।

इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट नेपाली समय साँझ ५ बजेर १७ मिनेट मा उडेको थियो । कार्गो र इन्धनका लागि साँझ करिब ८ बजे दुबई ल्यान्ड गरेको विमान राति ११ बजे काठमाडौंका लागि प्रस्थान गरेको थियो । तेलअभिभस्थित नेपाली दूतावासका अनुसार इजरायलमा रहेका विद्यार्थीलाई उद्धार गरी ल्याइएको हो ।

उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी छन् । सुदूरपश्चिमबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाले हमासको आक्रमणमा परी ज्यान गुमाएका छन् । विपिन जोशी अझै बेपत्ता छन् भने आक्रमणमा परी घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको इजरायलमै उपचार भइरहेको छ ।