TRENDING

इजरायली बंकरमा नेपाली मात्रै उद्धार भएको छैन

काठमाडौँ । इजरायल र गाजाबीच शनिवारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म उद्धार हुन सकेको छैन ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी अजुर्न गिरीकाअनुसार अन्य देशका नागरिकहरूको धमाधम उद्धार भयो । तर, युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको भने शनिवारदेखि आजसम्म उद्धार हुन सकेको छैन । आफूहरूसँगै रहेका थाइल्यान्ड, इजरायल लगायतका अन्य देशका विद्यार्थीको उद्धार गरिएको उनको भनाई छ । ‘हामीले दूतावासमा पटक–पटक फोन गरेर उद्धारका लागि गुहार गर्‍यौँ । तर, लोकेसन पठाइदिनुहोस् भन्ने मात्र जवाफ आउने गरेको छ । उद्धार हुन सकेको छैन’ गिरीले भने ।

सुदूरपश्चिम विश्वविद्यालयका २० जना विद्यार्थीहरूलाई अर्को क्षेत्रमा लगिँदै छ । उनीहरू बस्दै आएको बंकरबाट उद्धार गरेर आज दिनभरमा आफूहरू भएको ठाउँमा ल्याउन लागिएको उनको भनाई छ । ‘शनिवारदेखि विभिन्न देशमा विद्यार्थीहरू बंकरमा थिए । तर, अन्य देशका विद्यार्थी तथा नागरिकको उद्धार गरियो । हाम्रा साथीहरू भने शनिवारदेखि नै बंकरभित्रै छन्’ उनले भने ।