TRENDING

बागमतीको राजस्व साढे नौ अर्ब घट्यो घरजग्गामा ४० प्रतिशत

काठमाडौ । बागमती बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७९/८० मा राजश्व असुलीमा कमी आएको छ। गत आवमा प्रदेशमा लक्ष्यभन्दा रु नौ अर्ब ४३ करोड कम राजश्व सङ्कलन भएको छ।

बागमती प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौँडाका कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारले गत आवभन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ।

प्रदेश सरकारले आव २०७९/८० मा रु ५५ अर्ब ३१ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा रु ४५ अर्ब ८८ करोड सङ्कलन गरेको उनले बताए। “शीर्षकको हिसाब मिलानको काम बाँकी रहेकाले केही राजस्व बढ्न सक्छ”, प्रमुख उपाध्यायले भने। प्रदेश सरकारले विभिन्न आयस्रोत र गत वर्षको नगद मौज्दातसहित रु ७० अर्ब ९३ करोड प्राप्त हुने अनुमान गरेको थियो।

प्रदेश सरकारले गत आवको सुरुआतसम्ममा नगद मौज्दातसहित रु ७७ अर्ब ८२ करोड सङ्कलन गरेको थियो। त्यसैगरी प्रदेश सरकारले सो आर्थिक वर्षमा सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने राजस्वअन्तर्गत अनुमानभन्दा २६ प्रतिशत कम प्राप्त भएको प्रमुख उपाध्यायकोे भनाइ छ।

सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायतका राजस्वमार्फत अनुमानको ७४ प्रतिशत मात्र सङ्कलन भएको छ। सो शीर्षकअन्तर्गत रु २८ अर्ब ४५ करोड राजस्व सङ्कलनको अनुमान गरिएकामा आर्थिक वर्षको अन्त्यसम्ममा रु २१ अर्ब चार करोड मात्र सङ्कलन भएको उनले बताए।

यस्तै सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणअन्तर्गत रु २१ अर्ब चार करोड प्राप्त हुने अनुमान गरिएको थियो। तर, आर्थिक मन्दीका कारण सङ्घीय सरकारले बजेट कार्यक्रम कटौती गर्दा केही कार्यक्रम फिर्ता भएको प्रमुख उपाध्यायले बताए।