TRENDING

नेपालमा वार्षिक १० देखि १२ लाख मेट्रिक टन धान अपुग, चामल जोहो गर्न विज्ञको सुझाव

काठमाण्डौ । नेपालमा वार्षिक १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा वार्षिक ६५ लाख मेट्रिक टन धान आवश्यक रहेकोमा उत्पादन भने वार्षिक ५५र५६ लाख मेट्रिक टनको हाराहारी रहेको कृषि मन्त्रालयको तथ्याङ्क छ ।

गएको आर्थिक वर्षमा नेपालले ३७ अर्ब रुपैयाँको धान, चामल र कनिका आयात गरेको छ । नेपाल कृषिप्रधान देश भए पनि धान, चामलसहित खाद्यान्न आयात हुने गरेको छ । गएको बिहीवारदेखि भारतले बासमतीबाहेकका चामल निकासीमा रोक लगाएपछि यसको असर नेपालमा पनि पर्ने सम्भावना छ । कृषिविज्ञ हरिकृष्ण उप्रेतीका अनुसार तत्काल सरकारले कुटनीतिक तहमा छलफल गरी भारतसँग आग्रह गरेर सहजीकरण गर्नुपर्छ ।

नेपालले धानसँगै गहुँ, मकै, कोदो, फापर र अन्य नगदेबाली उत्पादनलाई जोड दिएर आयातको निर्भरतालाई घटाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो । भारतले निकासीमा कडाइ गरेमा अरू देशबाट ल्याउन पहल गर्नुपर्ने, नेपालमा उत्पादन भएको धानबालीलाई किसानबाट न्यूनतम समर्थन मूल्यमा खरिद गरी मौज्दात राख्नुपर्ने, अवैधरूपमा हुने धानको निकासी रोक्नुपर्ने र चैते धान तथा अरू अन्नबालीको उत्पादन बढाउनेतर्फ ध्यान दिनुपर्नेमा विज्ञ उप्रेतीको जोड छ ।