TRENDING

दुई खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौँ। एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९र८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो ।

त्यतिबेला रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर रुपियाँको आयात भएको थियो । आर्थिक वर्ष २०७९८० मा मुलुकमा देखापरेको आर्थिक सङ्कटका कारण आर्थिक गतिविधि चलायमान नहुँदा पेट्रोलियम पदार्थको आयातमा कमी भएको हो ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिनुभयो । विकास निर्माणका काम कम हुनु, विद्युतीय गाडीको प्रयोग बढ्दै गएको र भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो हुँदा गएको आर्थिक वर्षमा आयातमा कमी भएको उहाँले जानकारी दिनुभयो । हवाई इन्धनको आयात बढे पनि अन्य सबै पेट्रोलियम पदार्थको आयातमा कमी आएको उहाँले जानकारी दिनुभयो ।

निगमका अनुसार गत आर्थिक वर्षमा डिजेल आयात १९।४६ प्रतिशतले घटेर १४ लाख सात हजार १७१ किलोलिटर आयात भएको छ । यस्तै पेट्रोलको आयात ७।७५ प्रतिशतले घटेर छ लाख ७७ हजार ११६ किलोलिटर आयात भएको निगमको तथ्याङ्क छ । मटितेल आयात २४।६१ प्रतिशतले घटेर १३ हजार किलोलिटर आयात भएको छ । यस्तै खाना पकाउने एलपिजी ग्यास भने ५।३४ प्रतिशतले घटेर पाँच लाख १२ हजार १७३ मेट्रिक टन आयात भएको तथ्याङ्क छ ।