TRENDING

एयरपोर्टबाट हालसम्मकै उच्च परिमाणको सुन बरामद, १ अर्बभन्दा बढीको अनुमान

काठमाडौं । राजस्व अनुसन्धान विभागको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ । विभाग उच्च स्रोतका अनुसार बरामद भएको सुनको परिमाण १ सय किलोभन्दा बढी रहेको अनुमान गरिएको छ ।

मंगलबार दिउँसो हङकङबाट काठमाडौं आएको क्याथे प्यासिफिकको उडानमा एयर कार्गोमार्फत् आएको स्कुटरका पार्टपूर्जामा लुकाई छिपाई ल्याइएको उक्त सुन बुधवार दिउँसो विभागले विमानस्थलस्थित भन्सार कार्गोको गेटबाट पक्राउ गरेको हो ।

हङकङबाट स्कुटरका पार्टपुर्जामा लुकाएर ठूलो परिमाणमा सुन आएको सुराकी विभागमा आएपछि विभागको टोलीले मंगलबारदेखि नै निगरानीमा राखेको थियो । बुधबार भन्सारबाट सुन भएको स्कुटरका पार्टपुर्जा छुटाएर गाडीमा लोड गरेपछि प्रहरीसहित रहेको विभागको टोलीले समातेको बताइएको छ ।

सुनसहित गाडी चालक तथा केही सहयोगी तथा भन्सार एजेन्टलाई समेत पक्राउ गरेको भए पनि सुन तस्करको जालो ठूलो भएको र अनुसन्धान प्रभावित हुने भन्दै विभागले सबै विवरण खुलाएको छैन ।