TRENDING

आलु, प्याजमा पनि १३ प्रतिशत भ्याट, साना किसानलाई फाइदा, उपभोक्तालाई मार

काठमाडौं । सरकारले बजेटसँगै सार्वजनिक भएको आर्थिक विधेयक–२०८० मार्फत आधारभूत आवश्यकता र दैनिक उपभोग्य वस्तुहरुमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । केही तरकारी र फलफूलसहित मट्टीतेलमा समेत भ्याट लगाएको छ ।

तरकारीतर्फ सरकारले आलु र प्याज (हरियोबाहेक) मा भ्याट लगाएको छ भने फलफूलतर्फ स्याउ, एभोकाडो, किबी, ऐंसेलु, श्रीफल, चेरी, स्ट्रबेरी, ब्ल्याकबेरी र हलुवाबेदमा भ्याट लगाएको छ ।

त्यस्तै फ्रोजन गरिएका आलु, कोसे तरकारी, केराऊ, बोडी, सिमी, पालुँगो, गुलियो वा स्वादिलो मकैसमेतमा भ्याट लाग्ने व्यवस्था आर्थिक विधेयकले गरेको छ । यसअनुसार कफी र किसमिसमा पनि भ्याट लागु गरिएको छ ।

त्यस्तै, फ्रोजन मासु तथा माछामा पनि भ्याट लाग्ने बनाइएको छ । त्यस्तै डिजेल र पेट्रोलमा पहिलेदेखि भ्याट लाग्दै आएकोमा मट्टीतेलमा पनि कर लाग्ने व्यवस्था गरिएको छ । अब ऊन, धागोलगायत वस्तुमा पनि भ्याट लाग्नेछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले १ सय ६७ वस्तुहरुमा भ्याट लगाउने घोषणा गरेका थिए । अब यस्ता वस्तु खरिद गर्दा पनि उपभोक्ताले थप १३ प्रतिशत कर तिर्नुपर्ने छ ।