TRENDING

सम्झौताको १४ महिना बाँकी छँदै नुवाकोटको दोर्खुखोलामाथि पुल बन्यो

नुवाकोट । नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल निर्माणको काम सम्झौताको १४ महिनाअगावै सम्पन्न भएको छ । तादीको खरानीटार र उर्लेनीको सीमा हुँदै बगेको दोर्खुखोलामा ४१ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको पक्की पुल निर्माण गरिएको हो ।

निर्माण थालेको छ महिनामै काम सम्पन्न भएको हो । पुल बनेपछि उर्लेनीको कृषि उपजलाई बजार पुर्याउन, स्थानीय बासिन्दालाई दैनिक उपभोग्यवस्तु खरिद बिक्री गर्न तथा सागरकुण्ड हुँदै गोसाइँकुण्डसम्म पुग्ने पदमार्ग बनाउन सजिलो हुने भएको छ ।

विसं २०७९ साल असार ३० गते पूर्वाधार विकास कार्यालय र जयविष्णु निर्माण सेवाबीच २०८१ साल असार ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्न सम्झौता भएको थियो । खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको पक्की पुलको हिजो बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नु भएको हो।

ठाडो खोला र पानीको बहावले साउन १ गतेदेखिको सट्टामा काम सुरु गर्न कात्तिक लागेको थियो । पुल निर्माणको काम सुरु भएको छ महिना नपुग्दै सम्पन्न गरेको जयविष्णु निर्माण सेवाका प्रोप्राइटर अनिल सिलवालले बताउनुभयो ।

उहाँका अनुसार २४ महिनामा पूरा गर्नुपर्ने काम जिम्मेवारी पाएको १० महिनामा नै सम्पन्न भयो । पुल निर्माण गर्न ठेक्का लगाएको पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्यका अनुसार छ करोड ९९ लाख ३९ हजार रुपैयाँमा ठेक्का दिएको पुलको निर्माण व्यवसायीलाई पाँच करोड ६२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

जिल्लाकै विकट बस्तीका रूपमा रहेको उर्लेनीसम्म गाडी पुर्याउनका लागि दोर्खुखोलामा पुल बनाइएको हो । मुख्यमन्त्री जम्कट्टेलले सडक व्यवस्थित बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताउनुभयो ।