TRENDING

जबजलाई मार्गदर्शक सिद्धान्त माने बामदेव एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौं। नेकपा विभाजनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट हुँदै नेकपा (एकीकृत समाजावादी) खोलेका नेता माधवकुमार नेपाल र कुनैबेला एमालेमा रहँदासँगै हुने अर्का नेता तथा हाल नेकपा एकता राष्ट्रिय अभियानको नेतृत्व गरिरहेका बामदेव गौतमबीच छलफल हुन लागेको छ।

गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाट टिकट नपाएर स्वतन्त्रबाट चुनावमा पराजित भएका अर्का नेता घनश्याम भुषाललाई समाजवादीमा प्रवेश गराएर हौषिएका एकीकृत समाजवादी अध्यक्ष नेपाल फेरि यतिबेला तीनै गौतमलाई पार्टी प्रवेश गराउन हौसिएका छन्।

उनले गौतमलाई पार्टी प्रवेश गराउनका लागि धेरै पटक छलफल गरेपनि गौतमका केही अडानले भने नेपाललाई पछाडि धकेलेको छ।

आफूले प्रवेश गरे एकीकृत समाजवादीको प्रमुख मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद(जबज)लाई जोड गरेका गौतमको यो अडानका कारण नेपाल झस्किएका छन्।

एकीकृत समाजवादीका धेरै नेताहरु एमालेको सो सिद्धान्तप्रति रुष्ट भएकाले पार्टीको अब नयाँ मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हुने बताउँदै गर्दा अध्यक्ष नेपाल उनको यो अडानबाट झस्किएका हुन्। यो विषयमा अध्यक्ष नेपालले पार्टीभित्र बृहत छलफल गरेर मान्नुपर्ने वा गौतमलाई अन्य केही उपायदेखाएर मनाउनुपर्ने देखिन्छ।

यस्तै गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली र आफ्ना समूहका नेताहरुलाई व्यवस्थापनको गर्नुपर्ने अडान राखेका छन्। यी विषयमा भने अध्यक्ष नेपाल सकरात्मक देखिएका छन्।