TRENDING

काठमाडौं महानगर भित्रका क्षेत्रमा भिख माग्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका क्षेत्रमा भिख माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बसपार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको हो ।

साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ । साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने वहानामा अथवा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीख माग्न अथवा भीख माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ।

असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीख माग्न नपाउने भएका छन् । त्यस्ता व्यक्तिका लागि काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ।