TRENDING

उजाडिएको गाउँमा नमूना विद्यालय अवधारणा

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–५ करलिमस्थित करलिम आधारभूत विद्यालयको कक्षा ३ मा अछाम घर भएका भरत साउद अध्ययन गर्दै थिए ।

बागलुङको एउटा गाउँको विद्यालयमा अहिले अछाम मात्रै हैन बाजुरा, बैतडी र बागलुङको दुर्गम पालिका निसीखोलाका विद्यार्थीलेसमेत पढ्दै आएका छन् । चर्को बसाइँसराइ खेप्दै आएको करलिम गाउँमा रहेको आधारभूत विद्यालयमा विद्यार्थी बढाउन छात्राबाससहितको सेवा दिएर करलिम बाहिरका २५ विद्यार्थी गत वषदेखि आवासीय सेवासहित अध्यापन गराइराखेको छ । त्यसमध्येका विद्यार्थी हुन अछामका साउद ।

बसाइँसराइले उजाडिएको गाउँमा रहेको श्रीराम प्राथमिक विद्यालय गाभिए पनि करलिम आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जाँदा शिक्षा प्रेमी स्थानीयलाई चिन्ता भयो । विसं २०६८ को जनगणनामा १६० घर भएको करलिम गाउँमा अहिले ८० घरमा मात्रै मानिस बस्दै आएका छन् ।

पछिल्लो १० वर्षमा ८० घर मात्रै बसाइँसराइले खाली भएको हैन यहाँको खेतीयोग्य जमिनसमेत बाँझो छ । बसाइँसराइले घरमा ताल्चा लागेको छ भने पिँढीमा झार पलाएको छ । खेतबारी बाँझै रहेपछि अहिले करलिममा भएका अधिकांश घरसमेत बसाइँसराइको तयारीमा छन् । गाउँमा वृद्ध र बालबालिकाबाहेक कोही भेट्टिदैनन् ।

बागलुङको बिहुँका अधिकांश जापान रहेका कारण बसाइँसराइ तीव्र रहेको छ । त्यही तीव्र बसाइँसराइका कारण प्रभावित बनेको करलिम आधारभूत विद्यालयलाई पुनःस्थानीयकै सक्रियतामा नमूना बनाउन थालिएको करलिम आधारभूत विद्यालयका सहायक प्रधानध्यापक गोविन्दप्रसाद कँडेलले बताउनुभयो ।

“कुनै दिन एक कक्षामा १०० विद्यार्थी भएको यसै विद्यालयमा गत वर्ष सबै विद्यार्थी जोड्दा ८० जना पुगेका थिए”, कँडेलले भन्नुभयो, “पुनःविद्यालय गाभिने अवस्था र विद्यार्थीलाई आधारभूत शिक्षका लागि टाढा जानुपर्ने बाध्यता भएकाले विद्यालयलाई जोगाउन करलिम कल्याण कोष स्थापना गरेर अन्य जिल्लाका विद्यार्थीलाई आवासीयसहितको सेवा दिन थालेपछि अहिले विद्यार्थी बढेर १२० पुगेका छन् ।”

उजाडिएको गाउँ र मारमा परेको विद्यालयलाई देखेर करलिमबाट विदेश पुगेकाले गठन गरेको करलिम कल्याण कोषले बाँझो जग्गालाई हराभरा पार्दै विद्यालयमा विद्यार्थी बढाउन विभिन्न जिल्ला र बागलुङका कुनाकाप्चाबाट परिवारलाई नै यहाँ बसाइँसराइ गरेर ल्याउन अभियान चालेको छ ।

विद्यालयमा बाहिरबाट विद्यार्थी ल्याएर निःशुल्क छात्राबाससहितको सुविधा दिएर अध्यापन गराउन थालिएको र पुनः यो शैक्षिकसत्रमा समेत थप ५० विद्यार्थी बाहिरबाट ल्याउने योजना विद्यालयसँग रहेको विद्यालयका शिक्षक रमेश सुवेदीले जानकारी दिनुभयो । सुवेदीलाई हालै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको करलिम कल्याण कोषको रकमबाट तलब खुवाउने गरी विद्यालयमा राखिएको हो ।

“कसैले बाँस नपाउने, कतै विद्यार्थीले अध्ययन गर्न नपाउने अवस्था छ तर यहाँ सुविधा सम्पन्न घर तथा जग्गा खाली छ भने विद्यालयमा विद्यार्थीको अभाव छ भन्ने हेतुले यस्तो योजना ल्याएका हौँ”, शिक्षक सुवेदीले भन्नुभयो, “माने परिवार नै ल्याएर गाउँमा राख्ने योजना छ, नभए उहाँका छोराछोरी जो पढ्न पाएका छैनन् उनीहरुलाई यहाँ ल्याएर पठाउने कोषको अवधारणा हो ।”

विद्यालयमा बालमैत्री शिक्षाका लागि सबै विद्यार्थीलाई दिवा खाजा, डिजिटलमाध्यमबाट शिक्षक सिकाइ र बालमैत्री भौतिक संरचना तयार गरिएको विद्यालयले जनाएको छ । पछिल्लो समय विद्यालयले गुणस्तरीय सेवा दिएर निजी विद्यालयका विद्यार्थीसमेत फर्काउने योजना बनाएको छ ।

बसाइँसराइले उजाडिएको गाउँमा दूरदराजमा रहेका गरिब तथा विपन्न परिवारलाई आश्रय दिएर उनीहरुका छोराछोरीलाई निःशुल्क अध्यापन गर्ने र परिवारका सदस्यलाई गाउँमै रोजगारी दिने लक्ष्यका साथ करलिम घर भई वैदेशिक रोजगारीका लागि विदेशमा रहनुभएका लक्ष्मण सुवेदीको परिकल्पनामा करलिम कल्याण कोष स्थापना गरिएको छ ।

कोषले हालै रु १५ लाखमा जग्गा खरिद गरेर छात्राबाससमेत निर्माण गरिसकेको छ । यस्तै कोषले रु डेढ लाख मासिक खर्चमा विद्यालयमा तीन तीन शिक्षक र छात्राबाससमेत सञ्चालन गर्दै आएको छ । कोषमा हालसम्म झण्डै रु दुई करोड रकम जम्मा भइसकेको छ । विसं २०३६ मा स्थापना भएको विद्यालयमा हाल छ स्थायी, तीन निजी स्रोत र एक करारमा शिक्षक राखेको छ ।