TRENDING

आज ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। देशभर कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको छ । आज ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार ७ सय २३ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाबाट संक्रमित भएर निको हुनेको सङ्ख्या ८ लाख ८७ हजार ४ सय ४३ पुगेको छ । एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टिजेनको विवरण समेत समावेश गरी १२ हजार ६ सय ५ नमुनाको परीक्षण गर्दा ३ हजार १ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ६५ जना १० वर्ष मुनीका बालबालिका कोरोनाबाट संक्रमित भएका छन् । सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका ८ सय २० जना कोरोनाबाट संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरि हाल ६३ हजार २ सय ९६ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् भने ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला १५ वटा पुगेको छ ।

त्यसैगरी, आज कोरोना सङ्क्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।