TRENDING

औषधसहित ३ जना पक्राउ

राजविराज । सप्तरीमा प्रतिबन्धित लागू औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको तिरुहुत गाउँपालिका वडा नम्बर ५ बस्ने किसुनदेव मेहताको छोरा बर्ष २७ को राज कुमार मेहता, सोही ठाउँका भोला सदाको छोरा बर्ष १९ को सिन्धु सदा र अग्निसाईर कृष्णासवरन ६ बस्ने भागवत साहको छोरा बर्ष २५ को बैजु साह रहेका छन् । पक्राउ परेका अभियुक्तहरूको साथबाट डाईलेक्स डिसि लेखिएको सय एमएलको १ सय ९० बोतल, डाईजिपाम २ एमएल लेखिएको इन्जेक्सन ९५ एम्पुल, फेनर्गन २ एमएल लेखिएको इन्जेक्सन ९५ एम्पुल र लिजेक्सिक २ एमएल लेखिएको इन्जेक्सन ९५ एम्पुल बरामद भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवि नारायण काफ्लेले बताउनुभयो ।

सप्तरीको छिन्नामस्ता गाउँपालिका १ स्थित बरही पूर्वपश्चिम कोशी कर्णाली पम्प नहरको बाटोमा बिहीबार चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २३ प २७७३ नम्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्दा उक्त लागु औषध बरामद भएको पत्रकार सम्मेलनमा एसपी काफ्लेले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूलाई लागु औषध शीर्षकमा मुद्दादर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सप्तरी प्रहरी प्रमुखको रुपमा एसपी काफ्लेले जिम्मेवारी सम्हाले यताको लागू औषध विरुद्ध प्रहरीको यो दोस्रो ठूलो सफलता हो । एक महिना अगाडि समेत राजविराजबाट बसमा काठमाडौं लैजाँदै गरिएको अवस्थामा ठूलो परिणाममा लागू औषध सहित संलग्न व्यक्तिहरूलाई राजविराजबाट नियन्त्रणमा लिइएको थियो ।