TRENDING

बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई सरकारको आह्वान

काठमाडौँ । सरकारले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भन्नुभयो, “हामीले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका निजी क्षेत्रलाई विशेष आह्वान गर्दै आएका छौँ । सरकार थप सहजीकरणका लागि तयार छ ।”

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानको आयोजना तथा नेपाल उद्योग परिसङ्घ र नेपाल पावर एक्सचेन्ज लिमिटेडको सहकार्यमा आयोजित नेपाल पावर मार्केट समिट २०२२ लाई सम्बोधन गर्दै उहाँले बिजुलीको खपत बढाउने विषय नै अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

सरकारको पहिलो प्राथमिकता विद्युत् खपतलाई वृद्धि गर्दै लैजानेमा नै रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने नीति लिएको जानकारी दिनुभयो । अहिले निजी क्षेत्रबाट सञ्चालित उद्योगले मागेअनुसार विद्युत् उपलब्ध गराउँदै आएको विवरण पेश गर्दै ऊर्जामन्त्रीले बिजुलीलाई कच्चा पदार्थको वस्तुका रूपमा लिएर त्यसलाई बढवा दिनुपर्नेमा जोड दिनुभयो ।

विद्युत् उत्पादन र खपतको वास्तविकता र यस क्षेत्रका मित्रराष्ट्रको ऊर्जाको आवश्यकताका आधारमा पनि एकापसमा सहकार्य गर्ने खालको रहेको भन्दै उहाँले हाम्रोमा उत्पादन बढी हुँदा मित्रराष्ट्रमा विद्युत्को माग बढी हुने गरेकाले पनि अवस्था सहज रहेको बताउनुभयो ।

हामीले चाहेको समृद्धिका लागि विद्युत् उत्पादन र खपत वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले प्रतिव्यक्ति विद्युत् खपत न्यून रहेकाले यसलाई कम्तीमा प्रतिव्यक्ति विद्युत् खपत ७०० युनिट पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री भुसालले विद्युत् व्यापारको क्षेत्रमा भारतसँग महत्त्वपूर्ण सहमति गरेको र त्यो दक्षिण एसियाकै ऊर्जा व्यापारका सम्बन्धमा कोसे ढुङ्गा बन्ने आफूले विश्वास लिएको बताउनुभयो ।

हालै मात्र सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तर देशीय विद्युत् व्यापारको अनुमति प्रदान गरेको छ । मन्त्रालय अन्तर देशीय विद्युत् व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि विद्युत् व्यापारका लागि अनुमति दिने तयारीमा रहेको उहाँको भनाइ छ ।