TRENDING

सिटिजन्स बैंकद्धारा कियोस्क सेवा शुरु, यस्ता छन् सुविधा

काठमाडौं । डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ कियोस्क (Kiosk) सेवाको सुरुवात गरेको छ ।

हिजो एक समारोह मार्फत उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरवारमार्ग शाखाबाट उपलब्ध गराइएको र निकट भविष्यमा नै यस सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको बताउनु भएको छ । कियोस्क मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् । नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकहरुको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ कियोस्क सेवा प्रयोगमा ल्याईएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरस (COVID19) को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको समेत बताइएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।