TRENDING

बस दुर्घटनाको दिन : जोरायलवासीले मनाए आज कालो दिन

काठमाडौं । आजभन्दा सात वर्ष पहिलेअर्थात् विसं २०७१ असोज २० गतेका दिन २९ जनाको ज्यान जाने गरी जिल्लाको जोरायल गाउँपालिका–२ कठपत्तेमा भएको बस दुर्घटनामा परेका मृतकको सम्झनामा आज असोज २० गतेलाई जोरायलवासीले कालो दिनका रूपमा मनाएका छन् ।

विसं २०७१ को दसैँ सकिएको भोलिपल्ट ना३ख ५७०७ नम्बरको सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा उक्त ठाउँमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी स्थानीयवासी २९ जनाको अकालमै मृत्यु भयो भने अन्य ६८ घाइते भएका थिए ।

जिल्लाको सबैभन्दा ठूलो दुर्घटनालाई सम्झिँदै यहाँका स्थानीयवासीले आजको दिनलाई कालो दिनका रूपमा मनाएको जोरायल–५ का स्थानीयवासी चित्रराज भट्टले बताए ।

उनले भने, “जिन्दगीमा बिर्सिनै नसकिने ठूलो घटना भयो, जो अहिले पनि हामीमाझ झलझली सम्झनामा आउँछ, सोही दुःखद् घटनालाई सम्झेर आजको दिन हामीले कालो दिनका रूपमा मनाएका छौँ ।”

बसमा क्षमताभन्दा बढी यात्रु भएका कारण बसको पट्टा टुटेपछि उक्त दुर्घटना भएको जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय दिपायलको प्रतिवेदनमा उल्लेख छ । उक्त बसका चालक विष्णु साहु अहिले कारागारमा उक्त दुर्घटनाको सजाय भुक्तान गरिरहेका छन् ।

यसैगरी उक्त घटनामा मृत्यु भएकाको सम्झनामा यहाँका नागरिकले आज साँझ २९ दीप बालेर श्रद्धाञ्जलिसभा मनाएको जोरायल–३ का स्थानीय महिला यशोदाकुमारी मल्लले बताए ।

उनले भने, “कलिलै उमेरका २९ जना हाम्रा आफन्तले ज्यान गुमाए, त्यो दुःख हामी कहिले बिर्सिदैनौँ, दुःख शान्त गर्नलाई भए पनि मृतकको सम्झनामा हामीले शोकसभा मनाएका छौँ ।”

जोरायल गाउँपालिकामा आमाबुबाका हातबाट दसैँको टीका थापेर आ–आफ्नो कार्यक्षेत्रमा फर्किरहेका बेला भएको उक्त बस दुर्घटनाले यहाँका २९ नागरिकको जीवन नै उजाड बनाइदिएको छ । सो बस दुर्घटनाका घाइते अहिलेसम्म पनि अस्पतालमै उपचार गर्न बाध्य भएको जोरायल–२ बुडरका वडाध्यक्ष मानबहादुर मल्लले बताए ।

उनले भने, ‘सात वर्ष पहिले जिल्लाकै ठूलो घटना भयो, उक्त घटनामा धेरैले ज्यान गुमाए, कतिपय अहिलेसम्म पनि अस्पतालमै उपचारार्थ छन्, कतिपएको जीवन नै तहसनहस भयो ।’

उक्त दुर्घटनामा परेकी स्थानीयवासी कल्पना विष्टको मेरुदण्ड भाँचिएका कारण उनलाई अहिलेसम्म पनि निको भएको छैन । उनले अहिले पनि अस्पतालमै उपचार गराइरहेका छन् । सो घटनामा कल्पनाले श्रीमान् र छोरी गुमाएसँगै आफू पनि कहिल्यै निको नहुने गरी घाइते हुनुभएको छ । कल्पनाको जस्तै उजाडिएको अर्को जीवन हो ३५ वर्षीया कृष्णा शाहीको ।

कैलालीको तेघरीमा बस्दै आएकी कृष्णाको परिवार दसैँ मनाउन जोरायल आएको थियो । दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दसैँ मनाउन आएको उनको जोडीलाई उक्त घटनाले कहिल्यै मिलन नहुने गरी बिछोड गराइदिएको थियो । कृष्णाका श्रीमान् राजेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु भएको थियो । कृष्णा पनि कल्पनाजस्तै मेरुदण्डको पक्षाघात भएर अहिले अस्पतालकै शय्यामा बाँचिरहेका छन् ।

जिल्लामा बर्सेनि दसैँ र तिहारको समयमा ठूला सवारी दुर्घटना हुने गरेका छन् । चाडबाडको समयमा बढीजसो दुर्घटना हुने भएकाले यहाँको प्रहरी प्रशासनले सवारी अनुगमनमा अहिले कडाइ गर्दै आएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दले बताए ।

उनका अनुसार चालकको लापरबाही र बढी यात्रु बोक्ने गरेका कारण सवारी दुर्घटनाको जोखिम बढ्न थालेको पाइएपछि जाँचमा कडाइ गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलको तथ्याङ्कअनुसार जिल्लामा चाडपर्वमा मात्रै भएका सवारी दुर्घटनामा मात्रै यस जिल्लामा १०० भन्दा बढीले अकालमै ज्यान गुमाउनुपरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख महासिंह साउदले जिल्लाका ग्रामीण सडकमा ट्राफिक प्रहरी नहुने र चालकले आफूखुसी क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण बर्सेनि दुर्घटना हुने गरेको बताए । विमलबहादुर विष्ट,रासस

accident