TRENDING

चन्द्रागिरी नगरपालिका कार्यालय अगाडिकै बाटोको यस्तो दुर्दशा : ठेकेदारलाई मस्ती, जनतालाई सास्ती

काठमाडौं । काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका कार्यालयसँगैको ‘गुर्जुधारा- सृजनाचोक’ सडक खण्डको अवस्थाका कारण मानिसहरले सास्ती भोगिरहेका छन् । विगत २ वर्षदेखि सडक निर्माणको नाममा खनिएको बाटो नबन्दा स्थानीयका साथै यात्रुहरुले निकै दु:ख पाएका हुन् ।

खनेर छाडिएका खाडलहरु नपुरेका कारण यो सडक भएर यातायात संचालन हुन सकेको छैन भने पैदल यात्रा पनि निकै कष्टप्रद बन्ने गरेको छ । विकासका नाममा यसरी बाटो नै बिगारेर बनाइएका खाडल, बिच बाटोमै खोलो बग्ने स्थिति र जनप्रतिनिधिहरुको बेवास्ताका कारण जीवन नै जोखिममा राखेर यात्रा गर्नु यहाँका स्थानीयको दैनिकि भएको छ । अफिसियल कामकाजीहरु जोखिम मोलेरै कार्यालय जाने आउने गर्दा दुर्घटनामा परि घाइते समेत भएका स्थानीय लक्ष्मी श्रेष्ठले बताउनुभयो ।

यतिमात्र होइन मोरटसाइकल एवं स्कुटरमा सवार व्यक्तिहरु चिप्लिएर नलडेको कुनै दिन नभएको स्थानीय बासिन्दाहरु बताउँछन् । “बाइक चढेर आउँछन् , यो हिलोमा पछारिन्छन् , धेरै जनाको खुट्टा भाँचिइसक्यो , बाटो बनाउन भनेर खनेर छाडे , २/३ वर्ष गैसक्यो न बाटो बनाउँछन् न खनेको खाडल नै पुरिदिन्छन् । ठेकेदारले पैसा नपाएको रिसले खनेर विगार्दिएको भन्ने सुनेको छु ” स्थानीय बिमला श्रेष्ठले भन्नुभयो ।

यसबारे चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठसँग बुझ्दा वडाबाट विनियोजित बजेट मात्र प्रयाप्त नभएका कारण नगरपालिकाले समेत कामका लागी पहल गरिरहेको बताउनुभयो । ” वडाले बजेटका लागि सिफारिस गरेकै हो, काम किन भएन यसबारेमा म बुझ्नेछु ” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

 

यसबारे नगरपालिकाले समेत चित्तबुझ्दो जवाफ नदिई २/४ महिना अझै कुर्नपर्छ भन्दै आफुहरुलाई झुलाइरहेको स्थानीय राजु थापाले बताउनुभयो । नगरपालिकाका इन्जिनियर रबिन्द्र रिजालले बाटो नबन्नुमा ठेकेदारका कारण देखाउँदै अब आउँदो योजनामा टेण्डर आव्हान गरेर पहल गर्ने आश्वासन दिएको उहाँको भनाई छ ।

यसरी २ /४ महिनामा बन्ला भन्दै यहाँका स्थानीयले वडा र नगरको आशा गरेको पनि करिब ४ बर्ष बितिसकेको छ । तर यस तर्फ न त वडाले चासो दिएको देखिन्छ न त नगरपालिकाले नै ध्यान दिएको देखिन्छ । बाटो मर्मतका लागि बिनियोजित बजेट मध्ये १ करोड १० लाख रुपैंया भने ठेकेदार कम्पनिलाई विनियोजन गरिसकेको बताइएको छ । उक्त बजेटले १ सय ८० मिटर पिच गर्ने योजना रहेकोमा पिच नगरी ७० मिटर ढलान गरिएको पल्बुँ टोल सुधार समितिले जनाएको छ । बाटोमा बनाइएका खाडल किन बनाइए र यसै छोडिए भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ कसैसँग पनि छैन । यद्यपी आयोजनाका नाममा ठेकेदारलाई मस्ती र जनतालाई सास्तीको अवस्था प्रत्यक्ष देख्न सकिन्छ ।

 

ठेकेदारको मनपरिका कारण योजना सम्पन्न हुनुको साटो झनै अलपत्र अवस्थामा छोडिएको छ । सडकका विचमा बनाइएका ठुला ठुला खाडल र मनपरि थुपारिएका माटाका ढिस्काहरु देख्दा लाग्छ , यो कुनै मोटरबाटो नै होइन । त्यसैमाथि सडकको बिचबाटै खोला समेत बग्ने गरेको छ । यसबारे वडा र नगरपालिकाले चासो नदिँदा यो स्थिति कहिलेसम्म झेल्नुपर्ने हो भन्नेमा स्थानीयहरु निकै नै चिन्तित रहेका छन् ।