TRENDING

सन्दर्भ – १८ औं राष्ट्रिय धान दिवस : नेपाललाई वार्षिक १० लाख टन अपुग

काठमाडौं । आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस । देशभर रोपाँई गरी मनाइँदैछ । आज कृषि विभागले खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को फार्ममा साँकेतिक रुपमा धान रोपी १८ औं राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सव मनाएको छ । यसबाहेक धान उत्पादन हुने सबैजसो जिल्लाहरुमा पनि धान दिवशको कार्यक्रम हुने विभागले जानकारी दिएको छ । आजको यस दिवसमा साँस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने)  कार्यक्रममा रोक लगाउनुका साथै मापदण्ड नै तयार पारी दिवस मनाउन थालिएको छ ।

नेपालको प्रमुख खाद्यान्न बाली धान उत्पादनका हिसाबले नेपाल १७ औं स्थानमा पर्दछ । साथै चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन् । यो वर्ष नेपालमा कोरोना संक्रमणको जोखिम बीच विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सवहरु भइरहेको खबर प्राप्त भएको छ । यो वर्षको मूल नारा ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ ।

गत वर्ष नेपालमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागको तथ्याँक रहेको छ । कुल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको उल्लेख गरिएको हो । धान दिवसकै अवसर पारेर कृषि तथा पशुपंक्षी विकाश मन्त्री वसन्त कुमार नेम्बाङले शुभकामना सन्देश दिँदै कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर काम गर्न अनुरोध गर्नुभएको छ । साथै आगामी आर्थिक वर्षको बजेटमा किसान र कृषि लक्षित बजेट तथा कार्यक्रमले किसानको आर्थिक उत्थान र सम्वृद्धि हासिल गर्न सहयोग गर्ने विश्वास लिएको मन्त्रि नेम्बाङले बताउनुभयो ।

धान उत्पादनमा वृद्धि भएता पनि नेपाल अझै चामलमा आत्मनिर्भर बन्न भने सकिरहेको छैन । नेपाललाई कृषि प्रधान मुलुकका रूपमा लिइए पनि चामलमा आत्मनिर्भर बन्न नसक्नु दुःखद् भएको विज्ञहरूको भनाइ छ । कृषि मन्त्रालयका अधिकारीहरूको अनुसार नेपाललाई वार्षिक १० लाख टन चामल अपुग हुने गरेको छ ।

धान नेपालीको संस्कार र संस्कृतिसँग जोडिएको भए पनि उत्पादन अनुपात घटेर आयात बढेको अवस्था छ । यद्यपि सरकारले नेपालीहरूको मुख्य खाद्यान्नका रुपमा प्रयोग हुँदै आएको धान चामलमा आत्मनिर्भर बनाउने घोषणा भने गर्दै आएको छ । साथै, आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि ५ वर्षको अवधिमा धान उत्पादनमा आत्मनिर्भर हुने बताएको छ ।