TRENDING

चन्द्रागिरिमा सर्वदलीय समिति निर्माण गरिने

काठमाडौँ  । चन्द्रागिरि नगरपालिकामा कोरोना व्यवस्थापनका लागि सर्वदलीय समिति निर्माण गरिने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा बसेको राजनीति दलको सर्वपक्षीय बैठकले नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर सर्वदलीय समिति निर्माण गर्ने निर्णय गरेको हो ।

सर्वदलीय समितिले नगरपालिकाभित्र बढ्दो कोरोना सङ्क्रमणलाई रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै कोरोना सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउँदै लैजाने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका स्थानीय नेता एवं सञ्चारकर्मी रोशन दानीले राससलाई जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेत्री एवं वाग्मती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेमगरको संयोजकत्वमा बन्ने समितिमा विभिन्न राजनीति दलका दुई नेता समितिका सदस्य रहनेछन् । समितिमा बस्ने सदस्यको नाम प्रत्येक पार्टीले आजसम्म पठाइसक्नुपर्ने नेता दानीले बताउनुभयो । सर्वदलीय बैठकले आफ्नो पार्टीका जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण व्यवस्थापनमा आवश्यक निर्देशन दिन सक्नेछन् ।

बैठकमा सांसद आलेमगर, नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार धर्मानन्द श्रेष्ठ, नेकपा एमाले चन्द्रागिरि नगर समितिका अध्यक्ष राजु श्रेष्ठ, नेकपा ९माओवादी केन्द्र०का नेता देवकृष्ण महर्जन, नेपाल मजदुर किसान पार्टीका नेता गुणदास महर्जन, राष्ट्रिय जनमोर्चाका नेता दानीलगायतको सहभागिता थियो ।