TRENDING

६० लाख कित्ता आईपीओ ल्याउन लागेको सर्वोत्तम सिमेण्टले पहिलो वर्ष नै ३५% लाभांश दिने !

काठमाडौं । सर्वोत्तम सिमेण्ट लिमिटेडले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ विक्री गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।

त्यस्तै कम्पनीले सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले नेपालको धितोपत्रको इतिहासमै पहिलो पटक लागू भएको उक्त विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने कम्पनीको तयारी हो । हाल रू. ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्री पश्चात रू. ४ अर्ब पुग्नेछ ।

आईपीओको अंकित मूल्य रू. १०० भएपनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुको मूल्याङ्कनका आधारमा शेयरमूल्य तय हुनेछ ।कम्पनीले आन्तरिक मूल्याङ्कन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुनेमा विश्वास व्यक्त गरेको छ । व्यवसायिक उत्पादन शुरु गरेपछिनै नाफा कमाउँदै आएको र विगत तीन वर्षको औषत मुनाफा बार्षिक रू. १ अर्ब ४ करोडभन्दा बढी रहेको कम्पनीले बताएको छ ।

जगेडाकोष रकम माघ मसान्तसम्म रू. २ अर्ब ३१ अर्बभन्दा बढी रहेको उक्त कम्पनीको विगत तीन ओटा आर्थिक वर्षको औषत प्रतिशेयर आम्दानी रू. ५२ रहेको छ । आईपीओ जारी पश्चात तीन महीनाभित्रै १० प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएको कम्पनीका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको भनाइ छ ।

आईपीओ विक्रीबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरी बाँकी रकमले उद्योगको उत्पादन क्षमता दोब्बर गर्ने योजना कम्पनीको रहेको पनि अध्यक्ष न्यौपानेले जानकारी दिए ।

आईपीओ विक्री पश्चात ३५ प्रतिशत लाभांश निश्चित गरिसकेको भन्दै अध्यक्ष न्यौपानले कम्पनीको उत्पादन क्षमता दोब्बर योजनाले चार वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशत भन्दा बढी हुने प्रक्षेपण गरिएकोसमेत बताए ।

उनले संस्थागत लगानीकर्ताहरुले रू. ७५० मूल्य तोकेमा सर्वसाधारणले १० प्रतिशत कम रू. ६७५ मै शेयर खरीद गर्न पाउने भएकाले सर्वसाधारण लगानीकर्तामा सहुलियत हुने प्रतिक्रिया दिए । तर शेयरको अन्तिम मूल्य संस्थागत लगानीकर्ताहरुद्धारा बोलकबोल विधिबाट निर्धारण हुनेसमेत उनले बताए ।

नेपाल धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा भित्र्याउने उदेश्यका साथ गत साउन २८ गतेदेखि बुक विल्डिङ विधि लागू गरेको छ । यो विधि लागू नहुँदै धितोपत्र बजारमा शिवम् सिमेण्ट्सले प्रिमियम मूल्यमा आईपीओ जारी गरेको आजको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ ।

आईपीओ