TRENDING

राष्ट्रिय परिचयपत्रका लागि दर्ता शिविर शुरु

डोटी । दिपायल सिलगढी नगरपालिकाले आफ्ना वडाभरिमा राष्ट्रिय परिचयपत्र लागू गर्नका लागि राष्ट्रिय परिचयपत्र दर्ता शिविर शुरु गरेको छ । नगरप्रमुख मञ्जु मलासीले आज एक कार्यक्रमका बीच आफ्नो व्यक्तिगत विवरण दर्ता गरी शिविरको उद्घाटन गर्नुभयो ।

उक्त शिविर दुई हप्ता अर्थात् आगामी चैत १३ गतेसम्म सञ्चालन हुने र शिविर अवधिमा छुटेका नागरिकले जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि विवरण दर्ता गर्न सक्ने विवरण दर्ता अपरेटर पुनम बमले जानकारी दिनुभयो ।

नागरिकका सम्पूर्ण व्यक्तिगत तथा जैविक विवरण समेटिएको एकीकृत राष्ट्रिय परिचय तथा सूचना प्रणालीको व्यवस्थापन गर्नका लागि नागरिकलाई पृथक नम्बर सहितको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियानका रूपमा सञ्चालन गर्दै आइरहेको छ । उक्त अभियान सञ्चालन भएसँगै अहिले नगरपालिकमा राष्ट्रिय परिचयपत्र दर्ता गर्ने नागरिकको भीड बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिनुभयो ।